बान्नीगढी जयगढ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन


पैरवी खबर

अछाम। अछामको बान्नीगढी जयगढ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। अछाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य भरत कुमार स्वारले आइतबार एक समारोहकाबीच भवनको उद्घाटन गरेका हुन्। सो अवसरमा स्वारले स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नवनिर्मित भवनको महत्वपूर्ण भूमिका रहने बताए।

प्रशासनिक भवनलाई स्थानीय सरकारको पहिचान र जनताको सेवासँग जोडिएको महत्वपूर्ण संरचनाका रूपमा लिनुपर्नेमा उनले जोड दिए। स्वारले भवन निर्माणसँगै गाउँपालिकाले नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउनुपर्ने पनि बताए।

कार्यक्रममा भवन निर्माणका लागि जग्गा प्राप्तिदेखि निर्माण सम्पन्न हुँदासम्म विभिन्न चरणमा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद जैशीले भवन निर्माण प्रक्रिया, बजेट र खर्चको प्रगति विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउँद, भीम बहादुर साउँद, पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, उपाध्यक्ष लोक बहादुर साउँद लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको थियो।