टेकबहादुर थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ढकारी गाउँपालिका समितिले गाउँपालिकाका ८ वटै वडामा जनसंवाद यात्रा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको सोमबार बसेको पालिका समिति बैठकले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, जनगुनासोको सुनुवाइ तथा जनताका समस्या र अपेक्षाबारे जानकारी लिने उद्देश्यले जनसंवाद यात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘अग्रजलाई सम्मान, युवालाई काम, जनताका समस्या हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आगामी मंसिर ५ गतेदेखि जनसंवाद कार्यक्रम सुरु गरिने राष्ट्रिय स्वतन्त्र पार्टी ढकारी पालिका समिति सभापति तारा प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।
सभापति भण्डारीका अनुसार जनसंवाद यात्रामार्फत समुदायस्तरमै पुगेर स्थानीय नागरिकका गुनासा, अपेक्षा, आवश्यकता तथा सरोकारका विषयमा प्रत्यक्ष छलफल गरिनेछ । साथै, राजनीतिक दल तथा जनप्रतिनिधिहरूले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिका, स्थानीय विकासका प्राथमिकता र सार्वजनिक सेवा प्रवाहका सवालमा समेत नागरिकसँग अन्तरक्रिया गरिने उहाँले बताउनुभयो ।
जनसंवाद कार्यक्रमले नागरिकका आवाजलाई प्राथमिकतामा राख्दै स्थानीय तहमा देखिएका समस्या, विकास निर्माणका चुनौती तथा जनताका अपेक्षालाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने पार्टीको विश्वास छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ढकारी गाउँपालिका समितिले यसअघि पनि पालिकास्तरमा नागरिकले भोगिरहेका विभिन्न समस्या तथा जनसरोकारका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । आगामी जनसंवाद यात्रामार्फत नागरिक र राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई थप सुदृढ गर्दै जनउत्तरदायी शासन, पारदर्शिता र सुशासनका पक्षमा आवाज उठाउने लक्ष्य पार्टीले लिएको जनाएको छ ।


