अछाम । ‘आजको आवश्यकता निर्णायक तहमा महिलाको सहभागिता’ भन्ने मूल नाराका साथ अछामको चौरपाटी गाउँपालिकामा मर्यादित महिनावारीसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
समविकास नेपाल अछामको आयोजनामा, woman fund asia गरिमा परियोजनाको आर्थिक सहयोग तथा चौरपाटी गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम पालिकास्तरीय महिला सञ्जालका अध्यक्ष क्षेत्र खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, किशोरी समूह, सुरक्षाकर्मी, पत्रकारलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा चौरपाटी गाउँपालिकालाई मर्यादित महिनावारीमैत्री पालिका बनाउन स्थानीय तह, वडा जनप्रतिनिधि, महिला सञ्जाल, किशोरी सञ्जाल, सुरक्षाकर्मी तथा पत्रकारलगायत सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो।
छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काउनु मात्र पर्याप्त नहुने भन्दै समाजमा रहेका धार्मिक अगुवा, ज्येष्ठ नागरिक तथा नागरिक समाजमा समेत व्यापक जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। यसका लागि समविकास नेपाल, गाउँपालिका तथा वडा तहबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै चौरपाटी गाउँपालिकालाई मर्यादित महिनावारीमैत्री पालिका बनाउन सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा समविकास नेपालका फिल्ड संयोजक सुरेश स्वार, मनोसामाजिक सहजकर्ता पशुपति सावद तथा किशोरी परियोजनाकी सहजकर्ता बिस्ना सावदले सहजीकरण गरेका थिए।


