काठमाडौं । सञ्चारगृहभित्रै प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार बिहान माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।
शनिबार बिहान ८ देखि ९ बजेसम्म हुने धर्नामार्फत उनीहरूले पक्राउ परेका पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्नेछन्।
संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वपदाधिकारीहरूले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्ने सरकारी कदमलाई ‘नवतानाशाही’ र शाहीकालीन व्यवहारको संज्ञा दिएका छन्।
नेपालप्रेसका सुवेदी, बराल, नयाँ पत्रिकाका नवराज मैनाली र दियोपोस्टका सुदीप विश्वकर्मालाई पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको घटनाप्रति उनीहरूले आपत्ति जनाएका छन्।
समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा अदालत जाने वैधानिक बाटो हुँदाहुँदै राज्यले दमनको बाटो रोज्नु अस्वीकार्य रहेको उनीहरूको भनाइ छ। उनीहरूले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न र सञ्चारगृहमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गरेका छन्।
विज्ञप्तिमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी र उदय जिएम, निवर्तमान महासचिव रोसन पुरी तथा पूर्वमहासचिव पोषण केसी र उजिर मगरलगायतले हस्ताक्षर गरेका छन्।


