काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ।
मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम जारी निर्देशन पालना नगरेको तथा संगठनको स्वीकृत विधान र मूल उद्देश्यविपरीतका गतिविधि गरेको भन्दै एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार एन-प्याब्सनले मन्त्रालयबाट पटक–पटक दिइएका निर्देशन पालना नगरेको पाइएको छ। संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको मन्त्रालयको ठहर छ।
यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूसँग २०८३ साल असार २३ गते छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ साल भदौ १२ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो।
तर, ऐनको दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेको देखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।



