सडक सीमाभित्रका अनधिकृत संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन साँफेबगरको सूचना


पैरवी खबर

अछाम — सडक डिभिजन कार्यालय साँफेबगर, अछामले सडकको अधिकार क्षेत्र (Right of Way) भित्र निर्माण गरिएका अनधिकृत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

कार्यालयले दोस्रो पटक सूचना प्रकाशित गर्दै मध्यपहाडी राजमार्गअन्तर्गत बेलखेत–विनायक–मंगलसेन–बयलपाटा–साँफेबगर सडक खण्ड (एनएच–०३) को कायम सडक सीमाभित्र रहेका घर, टहरा, पर्खाल तथा पसललगायतका संरचना हटाउन आग्रह गरेको हो।

सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनविपरीत निर्माण गरिएका संरचना र सडक आवागमनमा अवरोध पुग्ने सामग्री हटाउन कार्यालयले सूचित गरेको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्तिले आफ्ना संरचना स्वयं हटाई सडक सीमा खाली गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम कार्यालयबाट हटाइने र सो कार्यमा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।