वाक नेपालको २९ औँ बार्षिक सभा सम्पन्न, सामाजिक उपलब्धि र पारदर्शितामाथि समीक्षा


पैरवी खबर

अछाम । (पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल) वाक नेपाल अछामको २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

अछामको साँफेबगरमा आयोजित कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका गतिविधि, उपलब्धि, चुनौती, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो।
वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकासमन्त्री मेघराज खड्का रहनुभएको थियो। कार्यक्रममा बोल्दै खड्काले समाज रूपान्तरणका लागि भौतिक विकाससँगै मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। कुरीति, कुसंस्कार, विभेद, असमानता र पछौटेपनको अन्त्य गर्दै समानता, न्याय, समावेशिता, मानव अधिकार तथा सामाजिक सद्भावमा आधारित समाज निर्माण गर्नु नै वास्तविक सामाजिक रूपान्तरण भएको उहाँको भनाइ थियो। यस अभियानमा वाक नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले विपन्न समुदायको उत्थान, आयआर्जन, शिक्षा, स्वास्थ्य, कृषि तथा विकास निर्माणका क्षेत्रमा वाक नेपालले सकारात्मक योगदान पुर्‍याएको बताउनुभयो।

साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायलाई राज्यका सेवा र अवसरमा पहुँच पुर्‍याउन सरकारी निकाय र गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले गरिबी, विपन्नता, अन्याय र जोखिममा रहेका महिला, बालबालिका तथा पछाडि परेका समुदायको जीवनस्तर सुधारमा संस्थाले पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलले पनि वाक नेपालका कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी लाभग्राहीहरूले वाक नेपालबाट सञ्चालित आयआर्जन, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका कार्यक्रमले आफ्नो जीवनस्तर सुधार गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए। कार्यक्रममार्फत सीप विकास, आम्दानीका अवसर, सामाजिक सचेतना र आधारभूत सेवामा पहुँच विस्तार गर्न सहयोग मिलेको उनीहरूको भनाइ थियो।
लाभग्राहीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
सहभागीका जिज्ञासा र सुझावलाई सम्बोधन गर्दै अध्यक्ष मीनबहादुर कुँवरले सबैको आर्थिक समुन्नतिमार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित संस्थाले काम गरिरहेको बताउनुभयो। उहाँले सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै आगामी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय तहलाई सहयोग गर्न र विकास निर्माणका कार्यमा साझेदारका रूपमा काम गर्न संस्था तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

१२ करोड ९२ लाखभन्दा बढी आय, ११ करोड ५६ लाख खर्च
सामाजिक परीक्षणका क्रममा वाक नेपालका व्यवस्थापक टेकबहादुर थापाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा संस्थाको कुल आय १२ करोड ९२ लाख ८३ हजार रुपैयाँ र कुल व्यय ११ करोड ५६ लाख ४४ हजार रुपैयाँ रहेको प्रस्तुत गरिएको थियो।

सामाजिक परीक्षणमार्फत संस्थाका गतिविधि, उपलब्धि र सेवाप्रवाहको समीक्षा गर्नुका साथै सरोकारवालाहरूबीच सुझाव तथा अनुभव आदानप्रदान गरिएको थियो।

जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु,संस्थाका पदाधिकारी , विभिन्न मिडियामा आवद्ध पत्रकारहरु , साधारण सदस्यहरु , संस्थाद्वारा समुदायमा संचालित विभिन्न कार्यक्रमबाट लाभान्वित लक्षित समुदायहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष अप्सरा कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सुरतबहादुर खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।