साँफेबगर ।
अछामको साँफेबगर स्थित हातेमालो सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरत भुलको अध्यक्षतामा सम्पन्न सभामा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्का प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि खड्काले सहकारी संस्थाहरुले स्थानीय नागरिकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको थियो। सहकारीले सदस्यहरुको बचतलाई सुरक्षित गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने र स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न योगदान दिनु पर्ने धारणा उहाँले राख्नु भएको थियो। सहकारी संस्थाहरुलाई पारदर्शी, जवाफदेही र सदस्य केन्द्रित बनाएर सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै उहाँले सहकारी प्रति सदस्यहरुको विश्वास कायम राख्न आवश्यक रहेको बताउनु भएको थियो।
वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष सुरत भुलले एक करोड पाँच लाख रुपैयाँ बराबरको आयव्याय प्रस्तुत गर्नु भएको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, उपलब्धि तथा आगामी कार्य योजनाका विषयमा छलफल गरिएको छ । संस्थाका सदस्यहरुले संस्थामा पुर्याउनु भएको योगदान , सक्रियता नियमित बचतकर्ता र सर्वोत्कृष्ट बचतकर्ताहरुलाई खाद्यान्न तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
वार्षिक साधारण सभामा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर र साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख शिव बहादुर कुँवर (शिलोज) विशिष्ट अतिथि रहनु हुनु भएको थियो।
यस्तै कार्यक्रममा रास्वपा नगर सभापति मान बहादुर कँुवर, नेपाली कांग्रेस नगर समिति सचिव सूरत बहादुर ओड, नेकपा एमाले नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवर, नेकपा नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, साँफेबगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवराज बुढा, ७ का अध्यक्ष हिक्मत बहादुर कडायत, ९ का अध्यक्ष दिपक कुँवर, १० का अध्यक्ष ललित बोगटी लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, सहकारीका शेयर सदस्य तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
संस्थाका लेखा समिति संयोजक भ्वान सिंह सार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव चेतन गन्धर्वले गर्नु भएको थियो।


