भदौ १३, अछाम । अछामको मेल्लेख गाउँपालिकाले प्राकृतिक विपद्बाट प्रभावित तथा पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक ज्वाला सिंह साउदको अध्यक्षतामा भदौ १३ गते बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
भदौ १० गते रसुवामा आएको विपद्बाट ठूलो जनधनको क्षति भएको विषयमा बैठकमा छलफल गरिएको थियो। विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
बैठकले विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्तावसमेत पारित गरिएको छ।
बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो।


