साँफेबगरमा विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न


पैरवी खबर

साँफेबगर, साउन १४ – अछामको साँफेबगर नगरपालिकामा युवा, विभिन्न सञ्जालका प्रतिनिधि, सहजकर्ता तथा साथी शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी दुईदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।
UNFPA, KOICA तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामको आयोजनामा, सेबक नेपाल र साँफेबगर नगरपालिकाको सहकार्यमा सञ्चालित कार्यक्रमले स्थानीय युवामा विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी ज्ञान, सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमको पहिलो दिन “विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा युवा संलग्नता : के, किन र कसरी?” विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य योजना निर्माण तथा स्थानीय तहको विपद् व्यवस्थापनमा युवाको प्रभावकारी भूमिकाबारे जानकारी प्राप्त गरेका थिए।

समापनका दिन “युवाहरूका लागि विपद् व्यवस्थापन र जलवायु परिवर्तन” विषयमा अभिमुखीकरण तथा प्रशिक्षण सञ्चालन गरिएको थियो। प्रशिक्षणमा जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, समुदायमा आधारित पूर्वतयारी तथा विपद्का समयमा युवाले निर्वाह गर्नुपर्ने भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका विपद् जोखिम न्यूनीकरण संयोजक नगेन्द्र अर्याल, गुड नेवर्स इन्टरनेशनल नेपालका प्रदेश संयोजक जगदीश दास, साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणनाथ योगी, सेबक नेपालका सेफ गर्ल्स परियोजना संयोजक प्रेमप्रसाद खनाल लगायतको सहभागिता रहेको थियो।
स्थानीय युवालाई विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ।