१०० दिनदेखि सडकबाट सोध्दैछ दलित समुदाय- तिमीमा मानवता छैन र ?


पैरवी खबर

काठमाडौँ। अभियन्ता दिपा नेपालीले काठमाडौँको माइतीघरमा‘सरकार ! कोठा खाली छ ?’ धर्ना दिएको सोमबार १०० दिन पुगेको छ। सो अवसरमा सोमबार राजनीतिक दलका नेता, सांसद, सामाजिक अभियन्ता र अधिकारकर्मीहरूले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन्।

नेपालीले धर्ना थालेको १०० दिन पुगेको अवसरमा सयौँको संख्यामा अधिकारकर्मीहरूले माइतीघरमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शताब्दीऔँदेखि जातीय विभेद खेप्दै आएको दलित समुदायले काठमाडौँमा डेरा लिनेबेला समेत जातीय विभेद खेप्नुपरिरहेको र आवाज उठाए पनि कानूनीरुपमा न्याय पाउने अवस्था नरहेको अभियन्ता नेपालीको भनाइ छ।

उनले यससम्बन्धी कानूनमा कडा व्यवस्थासहितको सुधार आवश्यक रहेको भन्दै धर्ना दिँदै आएकी छन्। नेपाली आफैँले यसअघि पटक-पटक डेरा खोज्ने बेला जातीय विभेद भोग्नुपरेको भन्दै यस्तो विभेदको अन्त्यका लागि सरकारसँग माग राखेकी हुन्।

सोमबार उनको मागमा समर्थन जनाउँदै पूर्वमन्त्री र संविधानसभा सदस्यदेखि सांसदहरूसम्म माइतीघर सडकमा उत्रिएका हुन्।

दलितमाथि हुँदै आएको ऐतिहासिक विभेद अन्त्यको घोषणा गर्दै दलित समुदायसँग माफी माग्ने घोषणा गरेको सरकारले दलित समुदायले पाइलैपिच्छे भोग्दै आएको विभेदको अन्त्यका लागि सरकारले कानूनी र प्रशासनिक पहल लिनुपर्ने उनीहरूको माग छ।
(Samata Press)