साँफेबगर, साउन ११
साँफेबगर- अछामको साँफेबगरमा नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि सञ्चालन गरिएको पैरवी रणनीति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तीन दिने क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ।
BMZ (WHH) को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल (WAC Nepal) र समविकास नेपालको साझेदारीमा सञ्चालित WE-CAN Project अन्तर्गत साउन ९ देखि ११ गतेसम्म साँफेबगर नगरपालिका–४ स्थित दीप होटलमा तालिम आयोजना गरिएको थियो।
तालिममा साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका नागरिक समाज संस्था (CSO) तथा विभिन्न सञ्जालका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत सहभागीहरूको पैरवी क्षमता अभिवृद्धि गर्ने, अधिकारमा आधारित विकास अवधारणाबारे ज्ञान विस्तार गर्ने तथा विभिन्न सरोकारवाला निकायबीच समन्वय र नेटवर्किङलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो।
समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट पैरवी, अधिकारमा आधारित विकास, नेतृत्व विकास तथा प्रभावकारी नेटवर्किङ सम्बन्धी व्यवहारिक ज्ञान र सीप हासिल भएको बताएका छन्। उनीहरूले स्थानीय तहमा पोषण सुरक्षा, जलवायु अनुकूल कृषि प्रणाली तथा महिला सशक्तीकरणका क्षेत्रमा सिकेका ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्दै नागरिक समाजको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
“यो तीन दिने तालिमले पैरवी क्षमता, नेतृत्व विकास र संस्थागत समन्वय गर्ने सीपमा उल्लेखनीय वृद्धि गरेको छ। अधिकारमा आधारित विकास, महिला सशक्तीकरण, पोषण सुरक्षा तथा जलवायु अनुकूल कृषि सम्बन्धी सिकाइलाई समुदायमा व्यवहारमा उतार्दै स्थानीय सरकार र सरोकारवालासँग सहकार्य गरेर प्रभावकारी रूपमा काम गर्ने सहभागीले बताए ।
तालिममा ध्रुव सुनार प्रशिक्षकका रूपमा सहभागी हुनुभएको थियो।


