अछाम — जिल्ला समन्वय समिति अछामको आयोजनामा गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमाना हेरफेर तथा नगरपालिका वर्गीकरण पुनरावलोकन सम्बन्धी सर्वदलीय बैठक सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा आयोजित बैठकमा स्थानीय तहको संरचना, सिमाना तथा वर्गीकरण पुनरावलोकनका विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका बमबहादुर रावल, नेपाली कांग्रेसका नयाँराम बजगाईं, नेकपा (एमाले) का भीम रावल, नेपाली कम्युनिष्ट पार्टीका इन्द्र जैगडी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तेजबहादुर बिष्ट, अन्तरपार्टी महिला सञ्जालकी पूर्णा शाह लगायत पत्रकारहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा सहभागी अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूले अछाम जिल्लामा रहेका हालका १० वटै स्थानीय तह यथावत् राखिनुपर्ने धारणा राख्दै सोहीअनुसार राय तथा सुझाव प्रस्तुत गरेका छन्।


