रातिको समयमा गणेशमान–चवराचौतारा सडकखण्डमा सवारी सञ्चालन बन्द


पैरवी खबर

डोटी— जिल्ला प्रशासन कार्यालय डोटीले वर्षायाममा निरन्तर भइरहेको वर्षाका कारण सडक अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढेको भन्दै गणेशमान–चवराचौतारा सडकखण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन ४ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार सहजरपुर–बोगटान–दिपायल सडकअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षाका कारण सडक अवरुद्ध हुने जोखिम बढेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गर्दै रातिको बन्दका कारण यात्रु तथा सडक प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।