संगठन सुदृढीकरणमा जुट्यो नेकपा अछाम, गाउँ–गाउँमा एकता अभियान


पैरवी खबर

तपेन्द्र कुँवर
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टी एकतालाई संगठन विस्तारसँग जोड्दै पालिकादेखि वडा तहसम्म संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ। जिल्ला समिति समायोजन तथा शपथग्रहण सम्पन्न भएसँगै पार्टीले जिल्लाभर संगठन निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

साउन २८ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र मातृभूमि जागरण पार्टीबीच जिल्ला समिति समायोजन तथा शपथग्रहण सम्पन्न भएपछि पालिका र वडा तहमा संगठन विस्तार अभियान तीव्र रूपमा अघि बढाइएको जिल्ला संयोजक प्रकाश शाहले जानकारी दिनुभयो । साउन २८ गते सदरमुकाम मंगलसैनमा नवनिर्वाचित जिल्ला समितिलाई पार्टीका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जैशीले शपथग्रहण गराउनुभएको थियो ।

‘जिल्ला समायोजनपछि अहिले सबै पालिकामा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’ जिल्ला संयोजक शाहले भन्नुभयो–‘ अछाम क्षेत्र नं. २ अन्तर्गत पर्ने पञ्चदेवल विनायक नगरपालिकाबाट सुरु गरिएको अभियान ढकारी गाउँपालिका, मंगलसैन नगरपालिका, साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका र मेल्लेख गाउँपालिकामा सम्पन्न भइसकेको छ।’
मंगलबार बान्नीगढी जयगढ गाउँपालिकामा समायोजन कार्यक्रम हुने र निर्धारित कार्यतालिका अनुसार साउन ८ गते भित्र तुर्माखाँद गाउँपालिकाको समायोजन प्रक्रिया सम्पन्न गरिने संयोजक शाहले जानकारी दिनुभयो।
उहाँका अनुसार पालिका समायोजनसँगै वडा तहमा पनि संगठन विस्तार तीव्र बनाइएको छ। साउन १५ गतेभित्र जिल्लाका ९१ वटै वडामा समायोजन प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संगठन निर्माण अभियानसँगै पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम पनि समानान्तर रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
मंगलसैन नगरपालिकाका इन्चार्ज शिव बोगटीले पनि वडा तहसम्म समायोजनको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो । स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर पार्टी संगठनलाई थप सक्रिय बनाइने बताउनुभयो। उहाँले वाम शक्तिको एकताले स्थानीय राजनीतिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्य कम्युष्टि घट्कसँग पनि छलफल हुँदै आएको जानकारी दिनुभयो ।

जिल्ला सह–संयोजक पहल साउदले पार्टी एकता ढिलो भए पनि सही समयमा भएको बताउँदै यसले कार्यकर्तामा नयाँ उत्साह थपेको प्रतिक्रिया दिनुभयो । ‘पालिका तहका अगुवा कार्यकर्ताबीचको समायोजन सफलतापूर्वक सम्पन्न भएपछि संगठनभित्र सकारात्मक वातावरण बनेको छ।’ उहाँले भन्नुभयो– ‘ समयोजना प्रक्रियाका कार्यकर्ताले स्थानीय तहदेखि प्रदेश तहसम्मका कार्यकर्ताले कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।’ नेतृत्व रुपान्तरणको लागि पनि आवाज उठ्दै आएको सह–संयोजक साउदको भनाई रहेको छ ।
पार्टीका केन्द्रिय सदस्य एवंम् अछाम इन्चार्ज कुलबहादुर कुँवरले संगठन समायोजन पहिलो चरणको काम मात्रै भएको उल्लेख गर्दै अब पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्ने अभियान सुरु हुने बताउनुभयो ।
उहाँले वडा तहसम्म बलियो संगठन निर्माण गर्दै युवापुस्ता, किसान, मजदुर र आम नागरिकका मुद्दालाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो। ‘हामी कागजी संगठन बनाउन होइन, जनताको सुख–दुःखमा साथ दिने जीवन्त संगठन निर्माण गर्न लागेका छौं ।’ उहाँले भन्नुभयो–‘ यसले जिवन्त पार्टी निर्माणमा सहयोग पुग्नेछ ।’

पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज शेरबहादुर कुँवरले तीन राजनीतिक शक्तिको एकताले अछाममा कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा दिएको बताउनुभयो । उहाँले अब संगठन विस्तार मात्र नभई जनताको विश्वास जित्ने गरी पार्टीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
‘कम्युनिष्ट आन्दोलनको मूल शक्ति एकता हो । प्रवास ईन्न्चार्ज कुँवरले भन्नुभयो–‘अब हामी विभाजनको राजनीतिबाट होइन, साझा लक्ष्य र साझा जिम्मेवारीका साथ जनतामाझ पुग्नुपर्छ ।’ जनताले पनि कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर विकास, सुशासन र जनजीविकाका मुद्दामा काम गर्नुपर्ने अपेक्षा राखेकाले त्यसलाई व्यवहारमा उतार्ने दायित्व पार्टीको रहेको प्रवास ईन्चार्ज कुँवरको भनाई रहेको छ ।

केन्द्रीय सर्कुलर अनुसार भदौ १५ गतेभित्र वडा अधिवेशन र असोज मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको पनि जिल्ला नेतृत्वले जनाएको छ।