साँफेबगर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित


पैरवी खबर

अछाम । साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आइतबार सम्पन्न नगरसभाको १५औँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
नगर उपप्रमुख शिवबहादुर कुँवरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। किसान परिचयपत्र वितरण, कृषि पहुँच मार्ग निर्माण, बेसार–अदुवा उत्पादन प्रवर्द्धन, युवा स्वरोजगार, महिला उद्यमशीलता तथा पर्यटन विकासका कार्यक्रम समेटिएका छन्।
त्यसैगरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण, युवाका लागि इन्टर्नसिप अवसर, नमुना संसद सञ्चालन तथा उत्कृष्ट दलित र छात्रा विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति लिइएको छ।
नगरसभा अध्यक्ष राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ उपप्रमुख कुँवरले दिनुभएको थियो। छलफलपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको नगरपालिकाले जनाएको छ।