अछामको ढकारी गाउँपालिका–४, बलाताकी वडासदस्य मनीषा साउद मृत अवस्थामा फेला परेकी छन्। उनको शव घरनजिकैको जंगलमा भेटिएको हो।
दुई दिनअघि स्थानीय केही व्यक्तिले गाउँकै एक पुरुष र उनलाई अबेर राति उनकै घरभित्रबाट नियन्त्रणमा लिएर उनीहरूको फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल गराएका थिए। त्यस राति वडाका वर्तमान जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि तथा अगुवाहरूले उनीहरूबारे छलफल गरेका थिए।
छलफलका क्रममा प्रहरीमा कुनै उजुरी नदिने तथा भारतमा रहेका मृतक वडासदस्य साउदका श्रीमान् नआउन्जेल दुवैजनाको जिम्मेवारी वडा कार्यालयले लिने सहमति भएको बताइएको छ। तर, उक्त घटनासम्बन्धी फोटो, भिडियो तथा छलफल सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक अपमान सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, घटनाबारे अनुसन्धान सुरु भएकाले अहिले नै सबै तथ्य सार्वजनिक गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार मृतक साउद र ती पुरुषलाई नियन्त्रणमा लिएर छलफल गरिएको भोलिपल्टदेखि नै उनी बेपत्ता भएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापाले प्रहरीमा उजुरी दिएका थिए।
ढकारी प्रहरी चौकीमा शनिबार दर्ता गरिएको निवेदनमा वडाध्यक्ष थापाले जेठ २९ गते बिहान ११ बजेदेखि वडासदस्य साउद हराएको उल्लेख गरेको डिएसपी खनालले बताए।
त्यसपछि आइतबार मृतकका ससुराले पनि बुहारीको खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएका थिए।
डिएसपी खनालका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश रिमालको कमान्डमा जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट प्रहरी टोली घटनास्थल पुगेको छ। साथै, इलाका प्रहरी कार्यालय कमलबजार र ढकारी प्रहरी चौकीबाट समेत टोली खटाइएको उनले बताए।
घटनाको विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।


