रमेश पुरुष
खेलकुदबाट लाभ लिने मानिस धेरै भेटिन्छन्, तर खेलकुद र समाजलाई नै नयाँ उचाइमा पुर्याउन आफ्नो समय, ऊर्जा र क्षमता समर्पित गर्ने व्यक्तित्व भने विरलै जन्मिन्छन्। अछाम जिल्लाको साँफेबगर नगरपालिका–९ बुढाकोट (लुयाटा) मा जन्मिनुभएका एकेन्द्र कुँवर एक प्रेरणादायी व्यक्तित्व हुन । खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई पर्यटन प्रवर्द्धन र क्षेत्रीय विकासको अभियानका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिनुभएको छ।
विशेषगरी रामारोशन स्काई रनिङको अवधारणा र नेतृत्वमार्फत उहाँले अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामारोशनलाई खेल पर्यटनसँग जोड्दै उहाँले सुदूरपश्चिमको पहिचानलाई विश्वसामु पुर्याउने ऐतिहासिक अभियान सञ्चालन गर्नुभयो।
एकेन्द्र कुँवरको सक्रियताले केवल रामारोशन मात्र होइन, सुदूरपश्चिमका अन्य महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू खप्तड र बडिमालिकाको प्रचारप्रसारमा समेत सकारात्मक प्रभाव पारेको छ। साहसिक खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने सन्देश उहाँले व्यवहारमै प्रमाणित गर्नुभएको छ। उहाँको प्रयासले दुर्गम क्षेत्रका प्राकृतिक सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ आकर्षणको केन्द्र बनाउन मद्दत पुगेको छ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेशनका अध्यक्षसमेत रहनुभएका कुँवरले नेपालमा साहसिक दौड प्रतियोगिताको विकास, खेलाडी उत्पादन तथा खेल पर्यटन विस्तारमा निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँको नेतृत्वमा आयोजित विभिन्न प्रतियोगिताले स्थानीय अर्थतन्त्र, पर्यटन व्यवसाय र युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
अछामको खेलकुद इतिहासमा मात्र होइन, समग्र सुदूरपश्चिमको पर्यटन विकासको यात्रामा पनि एकेन्द्र कुँवरको योगदान विशेष रूपमा स्मरणीय रहनेछ। खेलकुद र पर्यटनलाई एकै सूत्रमा बाँधेर क्षेत्रको पहिचान स्थापित गर्ने उहाँको प्रयास आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास गर्न सकिन्छ।
सुदूरपश्चिमको खेलकुद र पर्यटन क्षेत्रले एकेन्द्र कुँवरको योगदानलाई सधैं सम्मानका साथ सम्झिरहनेछ। उहाँले देखाएको मार्गले भविष्यमा अझ धेरै युवालाई खेलकुदमार्फत समाज र राष्ट्रका लागि योगदान गर्न प्रेरित गर्नेछ।
अर्को बर्ष – २०२७ मा रामारोशन र बडिमालिका जोड्ने गरि Sky Running संचालन गर्ने तपाईंको संकल्प छ ,यसको लागि शुभकामना ।


