तिर्थ नेपाली
काठमाण्डौ । अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकस्थित स्वास्थ्य साँझेदारी च्यारिटी एचपीएन क्लिनिकले महिलाहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले फ्रीडम किट ब्याग तथा सेनिटरी प्याड वितरण गरेको छ।
क्लिनिकका सञ्चालक डा. बिनोद दंगालका अनुसार “महिनावारी एक प्राकृतिक प्रक्रिया हो”, “महिनावारी उपहार हो” तथा “महिनावारी हुँदा आत्मविश्वास बढ्छ” भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बेलायतस्थित एफकेबी संस्थाको आर्थिक सहयोगमा ३० जना महिलालाई महिनावारीका समयमा प्रयोग गरिने फ्रीडम किट ब्याग तथा प्याड वितरण गरिएको थियो ।त्यसैगरी, कार्यक्रममा सहभागी ३० जना महिलाको पाठेघरको क्यान्सर परीक्षणसमेत गरिएको डा. दंगालले जानकारी दिए। कार्यक्रममा सहभागी सेवाग्राहीहरूले एचपीएन क्लिनिक तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न आग्रह गरेका थिए।
वि.सं. २०८१ सालदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय स्वास्थ्य साझेदारी च्यारिटी एचपीएन क्लिनिकले न्यून आय भएका सेवाग्राहीलाई लक्षित गरी विभिन्न स्वास्थ्यसम्बन्धी सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


