नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. भीम बहादुर रावलले आफू जनप्रतिनिधि रहे पनि नरहे पनि गाउँ विकासका लागि निरन्तर काम गदै आएको बताउनुभएको छ ।
साँफेबगर नगरपालिका वडा नं.११ देविस्थान र १२ खप्तडमा आयोजित घरदैलो अभियानमा वोल्दै नेता रावलले पुनः निर्वाचित भएमा स्थानीय आवश्यकता अनुसार विकासका कामलाई तीव्र रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
घरदैलो अभियानका क्रममा डा. रावलले विगतमा आफूले निर्वाह गरेको संसदीय भूमिकाको समीक्षा गर्दै आगामी दिनमा जिल्लाको समग्र विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाधीनताका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
डा. रावलले भाद्र २३ र २४ गते भएको आन्दोलनबारे टिप्पणी गर्दै सो घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनुभयो ।
सरकारको नेतृत्वमा रहेका बेला भएका घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी ओलीकै हुने उहाँको दाबी छ । उहाँले उक्त आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएको उल्लेख गर्दै त्यसप्रति गम्भीर छानबिन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका समानुपातिक उम्मेदवार निर्मला साउदले आफू निर्वाचित संसदमा महिलाको मुद्धालाई शसक्त रुपमा अघि बढाउने प्रतिववद्धा व्यक्र गर्नुभयो । समानुपातिक उम्मेदवार केशर मियाले संसदमा पछाडि परेका समुदायको आवाज सशक्त रूपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
घरदैलो अभियानमा पूर्व मन्त्री शेरबहादुर कुँवर, केन्द्रिय कमिटी सदस्य कुलबहादुर कुँवर, हर्क बहादुर कुँवर गोविन्द, देव बहादुर कुँवर, जनक खड्का, सागर सिंह बाव्ली, रंग ठकुल्ला, जयन्ति वोगटी लगायतको सहभागिता रहेको थियो । डा.भीम रावल हिजोबाट घरदैलो अभियान सुरुवात गर्नुभएको हो ।


