अछाम — कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका बुवा–छोराको शव फेला परेको छ।
मिति २०८३ वैशाख ३ गते साँझ तुर्माखाँद गाउँपालिका–३ बल्देका ३५ वर्षीय पहल सिंह बुढाले चलाएको डुङ्गा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ क्षेत्रबाट घाँस लिएर फर्किने क्रममा अचानक पल्टिँदा उनी र उनका करिब ११ वर्षीय छोरा नरी बुढा नदीमा हराएका थिए।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. ४९ गुल्म खप्तड अछामबाट खटिएको विपद् व्यवस्थापन टोलीले खोज तथा उद्धार कार्य सञ्चालन गरेको थियो।
खोजीका क्रममा वैशाख ५ गते छोरा नरी बुढाको शव घटनास्थलदेखि करिब १ किलोमिटर तल फेला परेको थियो भने वैशाख ६ गते बुवा पहल सिंह बुढाको शव करिब ५०० मिटर तल पानीमुनि अड्किएको अवस्थामा गोताखोर टोलीले निकालिएको हो।
दुवै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नेपाल प्रहरीलाई बुझाइएको छ।


