‎यस्तो छ आज देशभरको मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना


पैरवी खबर

‎काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

‎जसका प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती , गण्डकी र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

‎आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

‎आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने छ । मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका थोरै स्थान तथा तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

‎बागमती र गण्डकी प्रदेशका पहाडी भाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।