अझै सञ्चालनमा आएन साँफे–मार्तडी सडक


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा, भदौ ८ गते
पहिरोका कारण लामो समय देखि अवरुद्ध बन्दै गएको बाजुराको साँफे–मार्तडी लोकमार्ग अँझै सञ्चालनमा आएको छैन् ।

गत जेठको २३ गते देखि आएको अविरल वर्षात्ले बाजुर्गाड देखि मार्तडी सम्मको सडक खण्ड अवरुद्ध हुँदै आएको थियो । तीन महिना देखि सो सडक सञ्चालनमा नआउँदा बाजुरावासीले दैनिक उपभोग्यका सामाग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।

अवरुद्ध सडक खुलाउँन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएपछि अहिले काम सुरु भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रहमा साँफे सडक डिभिजन अछामले अवरुद्ध बनेको तत्काल बार्जुगाड देखि बल्दे अम्कोट हुँदै मार्तडी सम्म काम सुचारु गर्ने जमर्को गर्दै आएपनि पानी पर्न नरोकिएका कारण काम गर्न सकिरहेको छैन् ।

सवारी साधान मार्तडीमा नपुग्दा दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै सास्ती खेप्दै आउनु परेको सदरमुकाम मार्तडी स्थित गैरी बजारका व्यापारीले दुःखेसो गदै आएका छन् । व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताले पनि दाल, चामल, नुन र तेल लागएतका दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नु परेको गैरी बजारका होटेल व्यवसायी प्रेमबहादुर बुढाले बताउनुभयो ।

गत आइतबार सडकको अवस्था बुझन् जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले साँफे मार्तडी लोकमार्ग अन्तगर्त पर्ने बल्दे अम्कोट सडकको अनुगमन गर्नु भएको थियो ।

सडक सुचारु गर्न विगत लामो समय देखि डोजरको प्रयोग गर्दै आएपनि अविरल वर्षात्का कारण सडकको तलमाथी दुबैतिरबाट पहिरो लाग्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।
साउनको केही दिन सम्म डोजरको निरन्तरताले सदरमुकाम मार्तडी सम्म साना सवारी साधान जीप र ट्रयाक्टर सुचारु भएपनि अहिले फेरि ती साधन साँफे मार्तडी सडक खण्डको बीच बीचमा रोकिँदै आएका छन् ।

ठुला सवारी साधन बस, ट्रकहरु सुचारु गर्न सडक डिभिजन साँफेले काम निरन्तरता दिदै आएको भएपनि पानी पर्न नरोकिएका कारण हिउँदको महिना नै कुुर्नु पर्ने अवस्था देखिएको छ । यो वर्खामा आएको अविरल वर्षात्का कारण साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अम्कोटमा पहिरो गएपछि लामो दुरीको सवारी साधान बल्देमा थन्किँदै आएका छन् ।

बुढीगङ्गा नगरपालिको अम्कोट बल्देमा भीषण पहिरो लागेकोले सवारी साधन बस, ट्रयाक्टर जीप सुचारु गर्न सकिने अवस्था छैन् । काठमाण्डौ, नेपालगञ्ज धनगढी महेन्द्रनगरबाट आउने लामो दूरीका सवारी साधन बस ट्रक हिउँदमै सुचारु हुन सक्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, सडक सुचारु गर्न सडक डिभिजन साँफेलाई जानकारी गरेको छ । साँफे मार्तडी अन्तर्गत पर्ने अम्कोट सडकको बीचमा ठुलो पानीको मुहान छ, त्यसले काटेको सडक पनी भत्काउँने गरेकोले सडक सुचारु हुन अँझै समय लाग्न सक्छ । सडकको ट्र्याक नै बदल्नु पर्ने हुँदा अम्कोटका स्थानीयलाई जग्गा दिन मानीरहेका छैनन् । सडक डिभिजनले तलबाट जमिन काट्दै जाने र माथबाट पहिरो गएपछि अम्कोट गाउँनै पहिरोको मुखमा रहेपछि अम्कोटका स्थानीयले जग्गा दिन नमानेका हुन् ।

हिउँदमा सडक सुचारु गर्न सधै यसरी नै जग्गा माग्ने गर्दछन् वर्खा लाग्छ त्यो सबै पहिरोमा परिणत हुन्छ, जसका कारण नत जग्गा रहन्छ नत बाटो रहन्छ, त्यसैले यो वर्ष जग्गा नदिएको अम्कोटका स्थानीय लक्षिराम पाध्यायाले बताउनुभयो । उहाँले भन्नुभयो, अम्कोटको बस्ती स्थान्तरणका लागि पहिला नै कुरा उठेको भएपनि अहिले सम्म त्यो बस्तीमा पहिरो पुग्दा पनि स्थान्तरण गर्न कतैबाट पनि पहल भएको छैन् । वर्खाको समयमा लागतार पानी परेको छ, पुरै बस्ती पहिरोमा पुरिन्छ अम्कोटका पहिरो पीडित कल्धरी नेपालीले बताउनुभयो ।

हिउँदका केही महिना सवारी साधनले मार्तडी भरिभराउ हुने गरेको भएपनि वर्खाको समय भने सधै खच्चर नै भरिभराउ हुने गरेको छ । लामो समयपछि यातायातको सुविधा पाउने आशमा बसेका बाजुरावासीको अवस्था अहिले पनि पहिलेको जस्तै रहेको छ । सदरमुकाम मार्तडी सम्म सवारी साधान सुचारु नुहँदा मल्लो क्षेत्रका स्थानीयहरुलाई पनि वर्खाको समय खाद्यानको अभाव हुने सम्भावना देखिएको छ ।

पहुँच र पैँसावालाका लागि हवाइ मार्गले केही सहज बनाएको भएपनि गरिब र दिन दुखीहरुका लागि भने वर्खामा सधै यो पीडा भोग्दै आउनु परेको छ । दैवि प्रकोपका कारण अहिले बाजुरामा सडकको अवस्था निकै तहसनहस पारेकोले सडक डिभिजन अछामलाई काम गर्न निकै हम्य हम्य परेको छ । हिउँदका महिना काम चलाउ गरेपनि स्थायीरुपमा सडक सुचारु गर्न निकै पुँजी खर्च गर्नु पर्ने देखिएको छ ।

जिल्लामा सुचारु भएको सवारी साधनलाई बाटो सँगै पुल समेत बगाएकोले हिउँदमा खोला तरेर नै वारपार गर्नु पर्ने अवस्था रहेको छ । पहिरोले अवरुद्ध बनेको सडकलाई डोजरले गत असार देखि नै काम गर्दै आएको भएपनि लगातार पर्दै गएको पानीका कारण सडक सुचारु गर्न अँझै समय लाग्ने सडक डिभिजन अछामले जनाएको छ ।