अछाम जेसीजको ऐतिहासिक कदम : पहिलोपटक राष्ट्रिय उपाध्यक्षमा झनक अधिकारीको उम्मेदवारी


पैरवी खबर

हिक्मत नेपाली
अछाम । सन् २०१३ मा स्थापना भएको अछाम जेसीजले आफ्नो इतिहासमा पहिलोपटक नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छ। अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष, इन्जिनियर जेसी झनक अधिकारीलाई नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारका रूपमा अघि सारिएको हो।

अछाम जेसीजका लागि यो ऐतिहासिक उपलब्धि र गौरवको क्षणका रूपमा हेरिएको छ। जिल्लाबाट राष्ट्रिय नेतृत्वमा प्रतिनिधित्व गराउने उद्देश्यसहित अघि बढाइएको यस उम्मेदवारीले अछाम जेसीजको संगठनात्मक सक्रियता र नेतृत्व क्षमतालाई राष्ट्रिय स्तरमा थप स्थापित गर्ने विश्वास गरिएको छ।

इन्जिनियरिङ पेसामा आबद्ध अधिकारी साहित्यकार, प्रशिक्षक तथा सामाजिक व्यक्तित्वका रूपमा समेत परिचित छन्। बहुआयामिक प्रतिभा, सकारात्मक सोच, नेतृत्व क्षमता र सामाजिक सेवाप्रतिको प्रतिबद्धताका कारण उनी जेसीज अभियानमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।

अधिकारीको उम्मेदवारीले नेपाल जेसीजमा नयाँ सोच, सकारात्मक परिवर्तन र प्रभावकारी नेतृत्वको सम्भावना बोकेको समर्थकहरूको विश्वास छ। युवाहरूको नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण र जेसीज अभियानलाई थप गतिशील बनाउने अपेक्षासहित उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ।

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी पौष ८, ९ र १० गते झापाको भद्रपुरमा आयोजना हुँदैछ। महाधिवेशनमा देशभरका जेसीज शाखाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

यसै अवसरमा अछाम जेसीज वर्ष २०२० का अध्यक्ष तथा चुनाव प्रचारप्रसार समिति संयोजक जेसी तुलाराम बिसीले देशभरका सम्पूर्ण मतदातालाई जेसी झनक अधिकारीको पक्षमा आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अपिल गरेका छन्।

बिसीले अधिकारीको उम्मेदवारी अछाम जेसीजको मात्र नभई समग्र अछाम जिल्लाको गौरव र राष्ट्रिय नेतृत्वमा सहभागिताको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबै जेसीज मित्रहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।
अछामबाट राष्ट्रिय नेतृत्वसम्मको यो ऐतिहासिक यात्रालाई सफल बनाउन देशभरका जेसीज सदस्यहरूको साथ र समर्थन निर्णायक हुने विश्वास गरिएको छ। तसर्थ अछाम जेसिज परिवारले राष्ट्रिय उपाध्यक्षका उम्मेदवार अधिकारी लाई अमुल्य मत प्रदान गरि विजय गराई दिन अपिल गरेको छ ।