प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सहयोग गर्ने सरोकारवालाको प्रतिबद्धता


पैरवी खबर

अछाम । प्लाष्टिक तथा फोहोर व्यवस्थापनका लागि स्थानीय सरकारले सञ्चालन गर्ने कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने साफेबगरका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अछामको साफेबगरमा आयोजित प्लाष्टिक न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा सहभागी स्थानीय व्यापारी, कृषक समूह तथा नागरिकहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
संवाद कार्यक्रममा सहभागी अधिकांश सरोकारवालाले पछिल्लो समय प्लाष्टिकको प्रयोग अत्यधिक बढ्दै गएको र यसको नकारात्मक असर मानव स्वास्थ्य, कृषि उत्पादन तथा वातावरणमा देखिन थालेको भन्दै प्रयोग न्यूनीकरण तथा व्यवस्थापनमा जोड दिएका थिए । बजार क्षेत्रसँगै गाउँघरमा समेत प्लाष्टिकजन्य फोहोर बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि स्थानीय सरकार, व्यापारी तथा नागरिक सबै जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ थियो ।
सरोकारवालाहरूले पसलबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुनु, उपभोक्तामा फोहोर व्यवस्थापनसम्बन्धी चेतनाको कमी हुनु र स्थानीय सरकारबाट प्रभावकारी कार्यक्रम सञ्चालन नहुनुले समस्या बढ्दै गएको बताएका थिए । बजारमा विभिन्न प्रकारका फोहोरसँगै प्लाष्टिकजन्य पदार्थ मिसिने भएकाले फोहोरको वर्गीकरण र व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उनीहरूको जोड थियो । यसका लागि स्थानीय सरकार तथा बजार व्यवस्थापन समितिले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने र त्यसमा आफूहरू सहयोग गर्न तयार रहेको उनीहरूले बताएका थिए ।
प्लाष्टिक न्यूनीकरणसम्बन्धी अभियान पालिकाको केन्द्रमा मात्र सीमित नराखी वडा तहसम्म विस्तार गर्नुपर्ने, नागरिकमा प्लाष्टिकले पार्ने नकारात्मक असरबारे सचेतना फैलाउनुपर्ने तथा गाउँघरमा जथाभावी फालिने मदिरा र विभिन्न पेय पदार्थका बोतलको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने सरोकारवालाहरूले सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै साफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले प्लाष्टिक तथा फोहोर व्यवस्थापनको विषयलाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले संवाद कार्यक्रममार्फत सरोकारवालाहरूलाई जिम्मेवार बनाउने प्रयास गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा यस विषयमा नगरपालिकाले महत्वपूर्ण निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“अब स्थानीय सरकार प्लाष्टिक तथा फोहोर व्यवस्थापनको विषयमा निर्मम भएर अघि बढ्छ । यसअघि पनि नगरपालिकाले यससम्बन्धी कानुन निर्माण गरिसकेको छ । अब ती कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । कानुनको पालना नगर्ने व्यक्ति तथा संस्थालाई कानुनबमोजिम कारबाही गरिनेछ,” नगर प्रमुख कुँवरले भन्नुभयो । उहाँले साफेबगरका दुवै बजारबाट निस्कने फोहोरको वर्गीकरण गरी प्लाष्टिकजन्य पदार्थको उचित व्यवस्थापन गर्ने तथा आगामी दिनमा प्लाष्टिकको प्रयोग घटाउने विषयमा सरोकारवालासँग छलफल गरेर योजना बनाइने जानकारी दिनुभयो । फोहोर व्यवस्थापनमा स्थानीय सरकारका प्रयासलाई सफल बनाउन नागरिकको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीले फोहोर तथा प्लाष्टिकजन्य पदार्थको न्यूनीकरणका लागि सबै क्षेत्रबाट जिम्मेवारपूर्ण पहल आवश्यक रहेको बताउनुभयो । अधिकारको विषयमा आवाज उठाउने तर आफ्नो कर्तव्य पालना नगर्ने प्रवृत्तिले फोहोर व्यवस्थापनमा समस्या सिर्जना गरेको उहाँको भनाइ थियो । “फोहोर व्यवस्थापन स्थानीय सरकारको मात्र जिम्मेवारी होइन । नागरिक, व्यापारी तथा सबै सरोकारवालाले आफ्नो कर्तव्य पनि पालना गर्नुपर्छ । नगरपालिकाले बनाएका कानुन कार्यान्वयन नहुँदा समस्या देखिएको छ । अब कानुन कार्यान्वयनलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ,” प्रमुख प्रशासकीय अधिकृत ओलीले भन्नुभयो । उहाँले नगरपालिकामा भरपर्दो र दिगो डम्पिङ साइट निर्माणका लागि चाँडै प्रक्रिया अघि बढाइने जानकारी दिँदै फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरले संवाद कार्यक्रमले बजार क्षेत्रका सरोकारवालालाई फोहोर व्यवस्थापनप्रति थप गम्भीर बनाएको बताउनुभयो । बजारको फोहोर व्यवस्थापन तथा प्लाष्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो । “बजार क्षेत्रको फोहोर व्यवस्थापन र प्लाष्टिकको प्रयोग न्यूनीकरणका लागि बजार व्यवस्थापन समिति आफ्नो तर्फबाट प्रयासरत छ । स्थानीय सरकारबाट प्रभावकारी कार्यक्रम सञ्चालन हुन सकेन र व्यापारीहरू पनि जिम्मेवार हुन सकेनन् भने समस्या समाधान गर्न कठिन हुन्छ । नगरपालिकाले यस विषयमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेमा बजार व्यवस्थापन समितिको तर्फबाट पूर्ण साथ र सहयोग रहनेछ,” अध्यक्ष कुँवरले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सुरुवातमा साफेबगर नगरपालिकाका प्रशासकीय अधिकृत शंकर थापाले प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि स्थानीय सरकारले गरेका गतिविधि, उपलब्धि, जोखिम, वर्तमान अवस्था तथा आगामी दिनमा सञ्चालन गर्नुपर्ने योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको उद्देश्यबारे समविकास नेपालका कार्यकारी निर्देशक पशुपति कुँवरले जानकारी गराउनुभएको थियो । संवाद कार्यक्रमको सहजीकरण पत्रकार टेकबहादुर थापा र रमेश परियारले गर्नुभएको थियो भने सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख देबसरा थापाले गर्नुभएको थियो । कार्यक्रममा साफेबगर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, कृषक समूहका पदाधिकारी तथा स्थानीय व्यापारीहरूको सहभागिता रहेको थियो । संवाद कार्यक्रम समविकास नेपाल, वाक नेपाल र पिसविन नेपालको आयोजना तथा पालिकाको समन्वयमा संचालन भएको हो ।