मंगलसेन–७ मा रहेको करिब सय मिटर अग्लो झरना हेर्न दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्न थाले
अछाम । अछामको मंगलसेन नगरपालिका–७ मा रहेको जनाली झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ।
करिब सय मिटर अग्लो स्थानबाट खस्ने झरनाको मनोरम दृश्य अवलोकन गर्न मंगलसेन नगरपालिकासहित छिमेकी स्थानीय तहबाट समेत दैनिक ठूलो संख्यामा स्थानीय तथा पर्यटकहरू पुग्ने गरेका छन्। चारैतिर अग्ला पहाडले घेरिएको बीचमा रहेको विशाल झरनाको दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ।
स्थानीय पदमराज जैशीका अनुसार पछिल्लो समय दैनिक दुई सयभन्दा बढी नागरिक जनाली झरना अवलोकन गर्न पुग्ने गरेका छन्। विशेषगरी युवा तथा किशोर–किशोरीहरूको रोजाइमा जनाली झरना पर्न थालेको स्थानीय युवाहरू बताउँछन्।
झरना क्षेत्रमा आवश्यक पूर्वाधार तथा संरचनाको अभावका कारण पर्यटकहरूले केही समस्या भोग्नुपरे पनि झरना अवलोकन गर्न जानेको संख्यामा भने कमी आएको छैन। पछिल्लो समय झरना क्षेत्रमा पिकनिक खाने, जन्मदिन मनाउने, टिकटक तथा विभिन्न भिडियो बनाउने युवायुवतीको संख्या समेत बढेको छ।
शुक्रबार मात्रै दुई सयभन्दा बढी युवा तथा स्थानीय जनाली झरना अवलोकन गर्न पुगेका थिए। प्राकृतिक रूपमा अत्यन्तै आकर्षक रहेको झरना पर्यटकको रोजाइमा परे पनि त्यहाँसम्म पुग्ने बाटो तथा आवश्यक पूर्वाधारको अभावका कारण समस्या भइरहेको पर्यटकहरू बताउँछन्।
जनाली झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारले आवश्यक लगानी गर्नुपर्ने स्थानीयको माग छ। सडक, पैदलमार्ग, विश्रामस्थल, खानेपानीलगायतका आधारभूत संरचना निर्माण गर्न सके झरनाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उनीहरूको भनाइ छ।
शुक्रबार जनाली झरनाको अवलोकन गर्न पुगेका मंगलसेन नगरपालिका–५ का वडा अध्यक्ष झंकर प्रसाद भाट, होटल व्यवसायी तथा अछाम जेसीजका पूर्वअध्यक्ष तुलाराम बिसी र युवा व्यवसायी तथा जेसीजका पूर्वअध्यक्ष फलेन्द्र प्रसाद उपाध्यायले जनाली झरना प्रकृतिले दिएको अनुपम उपहार भएको बताएका छन्।
उनीहरूले झरना अवलोकनका क्रममा आफूहरूले बेग्लै आनन्दको अनुभूति गरेको बताउँदै यति सुन्दर पर्यटकीय सम्भावना बोकेको क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे।
स्थानीयस्तरमा रहेका यस्ता प्राकृतिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण गर्न सके अछामको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत सिर्जना गर्न सकिने उनीहरूको भनाइ छ।
जनाली झरनाको प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्न सके यो क्षेत्र अछामकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ।


