अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम मंगलबारदेखि सुरु भएको छ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिको समीक्षा गरिँदैछ। साथै, आगामी आर्थिक वर्षमा सञ्चालन गरिने स्वास्थ्य कार्यक्रम तथा गतिविधिको कार्ययोजना समेत निर्माण गरिने स्वास्थ्य शाखा प्रमुख भूमीनन्द ढुंगानाले जानकारी दिनुभयो।
समीक्षा कार्यक्रममा नगरपालिकासँग सहकार्य गर्दै स्वास्थ्य तथा पोषणका क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाले आफ्ना कार्यक्रम तथा गतिविधिबारे प्रस्तुति दिने कार्यक्रमसमेत रहेको छ। बुधबारसम्म सञ्चालन हुने कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा अन्य सम्बन्धित पक्षहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख पदमबहादुर बोहराले बिरुवामा पानी हालेर गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारी, १४ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल पत्रकार महासंघका उपाध्यक्ष टेकबहादुर थापा तथा साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सिनियर अहेब चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियो।


