अछाम — साँफेबगर नगरपालिकाले सम्पत्ति तथा मालपोत कर संकलन कार्यलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउन वडाअनुसार कर संकलन गर्ने तालिका सार्वजनिक गरेको छ।
नगरपालिकाले एकैपटक कर बुझाउन आउने सेवाग्राहीको अत्यधिक भिड हुने भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन वडागत रूपमा पालो निर्धारण गरिएको जनाएको छ।
नगरपालिकाले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार वडा नम्बर १ र २, मंगलबार वडा नम्बर ३, बुधबार वडा नम्बर ४, बिहीबार वडा नम्बर ५ र ६ तथा शुक्रबार वडा नम्बर ७ र ८ का सेवाग्राहीले सम्पत्ति तथा मालपोत कर बुझाउन सक्नेछन्।
नगरपालिकाले सम्बन्धित वडाका करदातालाई तोकिएको दिनमा उपस्थित भई कर बुझाउन आग्रह गरेको छ। यसबाट कर संकलन प्रक्रियालाई सहज बनाउँदै सेवाग्राहीको समयसमेत बचत हुने नगरपालिकाको अपेक्षा छ।
साँफेबगर नगरपालिकाको कार्यालयले करदातालाई आवश्यक कागजातसहित तोकिएको दिनमा सेवा लिन आउन अनुरोध गरेको छ।



