साँफेबगर–११, देविस्थानमा साहित्य र मौलिक संस्कृतिको संगम, ‘हियाका कुडा’ गजल सङ्ग्रहको गृहजिल्ला स्वागत
साँफेबगर । अछामको साँफेबगर नगरपालिका–११ देविस्थानमा ‘सौरणी मेटाउनाका निउती’ नामक गौड्या भिट कार्यक्रम सम्पन्न भएको छ। अछाम गजल मञ्च अछामको आयोजना तथा वडा नम्बर ११ देविस्थानको सहयोगमा २०८३ साउन २३ गते कार्यक्रम सम्पन्न भएको हो।
साहित्य र स्थानीय मौलिक संस्कृतिलाई एउटै मञ्चमा जोडिएको कार्यक्रममा अछामका विभिन्न श्रष्टाहरूले गजल वाचन गरेका थिए। कार्यक्रमले गजलसँगै जिल्लाको मौलिक कला, संस्कृति र परम्परालाई समेत उजागर गरेको थियो।
कार्यक्रममा गजलकार कमल संघर्षद्वारा लिखित गजल सङ्ग्रह ‘हियाका कुडा’ को गृहजिल्ला स्वागत कार्यक्रमसमेत गरिएको थियो। सङ्ग्रहमाथि साहित्यकार पूर्णकुमार रावलले टिप्पणी गर्नुभएको थियो।
रावलले ‘हियाका कुडा’ उत्कृष्ट गजल सङ्ग्रह रहेको टिप्पणी गर्दै अछामको साहित्यिक क्षेत्रमा यसको महत्वपूर्ण योगदान रहने बताउनुभयो। उहाँले अछाम जिल्लाका दुवै क्षेत्रमा बोलिने अछामी भाषालाई समेत पुस्तकमा समावेश गर्न सके सङ्ग्रह अझै समृद्ध हुने सुझाव लेखकलाई दिनुभयो।
कार्यक्रममा गजलकार कमल संघर्षले आफ्ना गजलहरूको एकल वाचनसमेत गर्नुभएको थियो। उहाँका गजलले कार्यक्रममा सहभागी साहित्यप्रेमीलाई साहित्यिक स्वाद प्रदान गरेको थियो।
साहित्यिक प्रस्तुतिसँगै कार्यक्रममा अछामको मौलिक कला र संस्कृतिको समेत प्रदर्शन गरिएको थियो। स्थानीय कलाकारहरूले देउडा, ठाडीभाका, हुड्क्यौली, धमारी लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
वडा अध्यक्ष रामबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता भीम सरोवरले गर्नुभएको थियो भने सञ्चालन भुपेन अथकले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई रुपकुमार ओडले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो।
गजल, साहित्य र स्थानीय मौलिक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिएको उक्त कार्यक्रमले अछामको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।


