चौरपाटी गाउँपालिकाद्वारा विद्यालयको दिवा खाजा आपूर्तिका लागि प्रस्ताव आह्वान


पैरवी खबर

अछाम, साउन १२ — चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा सञ्चालन हुने दिवा खाजा कार्यक्रमका लागि खाद्यवस्तु आपूर्तिको प्रस्ताव आह्वान गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विद्यालयमा स्थानीय कृषि उत्पादनमा आधारित खाद्यवस्तु आपूर्ति गर्न इच्छुक गाउँपालिकाभित्र रहेका सहकारी संस्थाहरूबाट प्रस्ताव माग गरिएको हो। प्रस्ताव पेश गर्न इच्छुक सहकारीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र गाउँपालिकामा निवेदन दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ।
सूचनामा सहकारी संस्था दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रतिलिपि, सञ्चालक समितिको बैठक निर्णय, कर चुक्ता प्रमाणपत्र र संस्थाको निवेदन अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाले दिवा खाजामा प्रयोग हुने खाद्य सामग्री गुणस्तरीय, स्थानीय कृषि उत्पादनमा आधारित तथा गाउँपालिकाले निर्धारण गरेको मेनु अनुसार विद्यालयको मागबमोजिम आपूर्ति गर्नुपर्ने जनाएको छ। साथै, आपूर्ति अवधि सम्झौता भएको मितिदेखि २०८४ असार मसान्तसम्म रहने उल्लेख गरिएको छ।
त्यसैगरी, आपूर्तिकर्ताले विद्यालय र गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गर्नुपर्ने, निवेदन दिँदा हाल आपूर्ति गरिरहेको वडा तथा विद्यालय र प्रस्तावित वडा तथा विद्यालयको विवरण खुलाउनुपर्ने तथा समयमै आपूर्ति नगरे वा निर्धारित मापदण्ड पूरा नगरे सम्झौता रद्द गर्न सकिने चेतावनी पनि सूचनामा दिइएको छ।
गाउँपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी, पोषणयुक्त र व्यवस्थित बनाउने उद्देश्यले सहकारी संस्थाहरूलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ।