साँफेबगर, साउन ७।
साँफेबगर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ।
नगरपालिकाले आर्थिक वर्षभर सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सम्पादन गरिएका कार्यक्रमहरूको प्रगति समीक्षा गरेको हो।
साँफेबगर नगरपालिकामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुले आफ्नो यो वर्षभरिमा भएका प्रगति प्रतिवेदनको समीक्षा सहित प्रगति प्रतिवेदनलाई प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा चालु आर्थिक वर्षमा भएका उपलब्धि, देखिएका चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
समीक्षा कार्यक्रम नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको थियो । उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न शाखाबाट प्रस्तुत प्रगति विवरणमाथि छलफल गर्दै आगामी कार्ययोजनालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।
कार्यक्रममा नगरपालिकाले पारदर्शिता, सुशासन तथा विकास निर्माणका कार्यलाई थप गुणस्तरीय र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको जनाएको छ।


