आदरणीय दाजु कृष्ण कुँवर लगायत सम्पूर्ण साथीभाइहरूमा हार्दिक सम्झना।
आज यो तस्बिर हेर्दा मन अनायासै वर्षौँ पछाडि फर्कियो। तस्बिरमा देखिएको व्यक्ति म हुँ, तर मेरो आँखाले देखिरहेको दृश्य एउटा साधारण फोटो होइन—मेरो सम्पूर्ण बाल्यकाल हो।
यो हो ओख्लिकोटको डाँडा। यही डाँडामा मेरो बालापन हुर्कियो। यहीँ गाईगोरु चराएँ, साथीहरूसँग दौडिएँ, लडेँ, हाँसेँ, रमाएँ। तल फैलिएको जुक्त्या, परको राजिवाडा गेरानी, ग्वालथलाको खाल, चौपातो, चाउरेगरा र मौवाडी—यी ठाउँहरू केवल भूगोलका नाम होइनन्, मेरा जीवनका अमूल्य अध्याय हुन्।
मौवाडीको गेरुखाना टोलको सामुदायिक वनमा हामी रुखका हाँगा काटेर ढिकी बनाउँदै खेल्थ्यौँ। ग्वालथलाको खालमा पौडी खेल्ने रहर त झन् बेग्लै थियो। तर त्यो खालमा जसले पायो उसले पस्न पाइँदैनथ्यो। लुयाटाका कृष्ण दाइको अनुमति अनिवार्य थियो।
एक दिन त घरबाट आरुको फाचो लिएर गएको सम्झना अझै ताजा छ। त्यसको बदलामा कृष्ण दाइले मलाई मात्र एक मिनेटजति खालमा खेल्न दिनुभएको थियो। खाल बुझाउन चाप्पर र ठूला–ठूला ढुङ्गा बोक्नुपर्थ्यो, तर त्यो मेहनत पनि रमाइलोको अगाडि केही थिएन।
कतिपय दिन बिहानै गोरु लिएर ग्वालथला पुग्थ्यौँ। हामीलाई थाहा हुन्थ्यो—ढिलो भयो भने कृष्ण दाइ आइपुग्नुहुन्छ, अनि खालतिर जाने आँट कसैको हुँदैन। गोरुभन्दा धेरै हतार त हामीलाई खाल पुग्न हुन्थ्यो।
त्यो खालमा पौडी खेल्न पाउनु नै संसार जितेजस्तो लाग्थ्यो।
तर त्यो खुसी धेरैबेर टिक्दैनथ्यो। हामी पानीमा रमाइरहेका हुन्थ्यौँ। कोही डुबुल्की मार्दै, कोही पौडी सिक्दै, कोही पानी छ्यापाछ्याप गर्दै…
अचानक माथिबाट एउटा परिचित गर्जिने आवाज आउँथ्यो— “ए… उदागाइ पख!”
त्यो आवाज कृष्ण दाइको हुन्थ्यो।
त्यो आवाज कानमा पर्नासाथ सबैको होस उड्थ्यो। कसैले लुगा लगाउने फुर्सद पाउँदैनथ्यो। लुगा एउटा हातमा, चप्पल अर्को हातमा समातेर ज्यान जोगाएझैँ दौडिन्थ्यौँ। खुट्टामा काँडा बिझ्यो कि ढुङ्गाले चोट लाग्यो भन्ने पनि थाहा हुँदैनथ्यो।
आफ्नो गेरुखानातिरको सीमा पुगेपछि मात्रै सास फेर्थ्यौँ। अनि टाढाबाट ठूलो स्वरले कराउँदै आफ्नो रिस पोख्थ्यौँ। त्यतिबेला लाग्थ्यो—हामीले ठूलो युद्ध जित्यौँ। उता उनीहरू पनि भोलिपल्ट फेरि हामीलाई समात्ने योजनामै हुन्थे।
आज ती सबै सम्झँदा आफैँ हाँसो उठ्छ।
हामी गेरुखानी संख्या र सामूहिक शक्तिमा लुयाटाका साथीहरूभन्दा कमजोर थियौँ। कहिलेकाहीँ झगडा पनि पर्थ्यो। म आफूलाई बलियो ठान्थेँ, तर अन्तिममा हार पनि मेरै हुन्थ्यो। कुनै दिन त हाम्रो गाउँका दाइ बल्ललाई समेत उनीहरूले ड्वाड्वा खेलाएका थिए। आज सम्झँदा ती झगडासमेत मीठा लाग्छन्, किनकि त्यहाँ रिस थिएन, केवल बालापन थियो। बैर थिएन, मित्रता थियो।
समयसँगै सबै आ–आफ्नो बाटो लागे। कोही पढाइका लागि बाहिरिए, कसैको विवाह भयो, कोही विदेशिए, कोही सहरतिर बसाइँ सरे। म पनि रोजीरोटीको खोजीमा गाउँ छाडेर परदेश पुगेँ।
धेरै वर्षपछि गाउँ फर्किएँ। यही डाँडामा उभिएर यो तस्बिर खिचेँ। तर त्यो दिन एउटा ठूलो परिवर्तन देखेँ।
डाँडा उस्तै थियो। जुक्त्या उस्तै थियो। राजिवाडा गेरानी उस्तै थियो। मौवाडी उस्तै थियो। ग्वालथलाको खाल पनि उस्तै थियो।
फरक थियो त केवल मान्छेहरूमा।
जहाँ पहिले गाईगोरुको घण्टी बज्थ्यो, त्यहाँ सन्नाटा थियो। जहाँ बालबालिकाको हाँसो गुञ्जिन्थ्यो, त्यहाँ हावाको आवाज मात्र सुनिन्थ्यो। गाउँका धेरै घर बन्द थिए। गाईगोरु पाल्ने चलन हराउँदै गएको थियो। खेतबारी बाँझै थिए।
त्यो दृश्य देख्दा लाग्यो—हामीले गाउँ छोडेका होइनौँ, गाउँले पो आज पनि हामीलाई खोजिरहेको छ।
आज यो तस्बिर हेर्दा मन भक्कानिन्छ। ती साथीहरूको असाध्यै याद आउँछ। फेरि एकपटक त्यही डाँडामा बसेर बालापन फर्काउन मन लाग्छ।
तर समय कहिल्यै फर्किँदैन।
अब सम्झनाहरू मात्रै बाँकी छन्।
सायद यही नै जीवनको सबैभन्दा ठूलो सत्य हो—बाल्यकाल बित्छ, साथीहरू छुट्छन्, गाउँ रित्तिन्छ, तर सम्झनाहरू कहिल्यै बूढा हुँदैनन्।
आज सबै साथीहरूको नाम यहाँ उल्लेख गर्न नसके पनि, उनीहरू सबै मेरो मनमा सुरक्षित छन्। यदि उनीहरूले यो लेख पढे भने, उनीहरूले आफ्नै जीवनको एउटा अंश यसभित्र अवश्य भेट्नेछन्।
ओख्लिकोटको डाँडा, ग्वालथलाको खाल, मेरा बालसखा र ती सुनौला दिनहरूलाई हार्दिक सम्झना।
बाल्यकाल फर्केर आउँदैन, तर त्यसका सम्झनाहरूले जीवनभर मनलाई न्यानो बनाइरहन्छन्।


