धनगढी ।
स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक(पटक अनशन बस्दै आएका डाक्टर गोविन्द केसी फेरि अनशन बस्ने भएका छन्। आज दिउँसो ३ बजेदेखि डाक्टर केसीले अनशन बस्ने तयारी गरेका छन्। बुधवार मात्रै धनगढी पुगेका केसी अहिले धनगढी १ स्थित कृष्ण मन्दिरको धर्महशालामा बसेका छन्। उनले धर्मशालामै अनशन बस्ने भएका हुन्।
अनशन अगाडि केसीको तर्फबाट विजयबाबु शिवाकोटीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पाँच वटा बुँदा उल्लेख गर्दै अनशन बस्नुको औचित्य पुष्टि गर्न खोजिएको छ। विज्ञप्तिमा स्थापित नियम र मूल्यमान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् भन्ने माग राखिएको छ। तर कसले यस्ता नियुक्ति पाए भन्ने कुरा भने उल्लेख गरिएको छैन।
डाक्टर केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजको माग गरेका छन् तर छात्रवृत्ति कटौती कति भएरु कुनकुनमा सिट वृद्धि भयोरु सरकारीको हालत के छरु भन्ने जस्ता कुरा अहिलेसम्म सार्वजनिक भएका छैनन्।
यस्तै, डाक्टर केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन हुनुपर्ने साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन हुनुपर्ने माग अगाडि सारेका छन्। तर उनले राखेका यी मागहरू दीगो हुने या नहुने, माग पूरा गर्न सरकारसँग स्रोत छ या छैन भन्ने कुराको कुनै लेखाजोखा अहिलेसम्म भएको छैन।
डाक्टर केसीले यो पटक पनि एउटा अमिल्दो माग अगाडि सारेका छन्। उनले २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। सर्वोच्च अदालतले नै केही समयका लागि रोक लगाएको विषयलाई केसीले आफ्नो मागमा समेटेका छन्।
केसीको आन्दोलनले गेटामा चिकित्सा अध्ययन प्रभावित हुने चिन्ता
सरकारले गेटा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न भर्खरै उपकुलपति र रजिस्टार नियुक्त गरेको छ। उपकुलपति प्राध्यापक सुनिलकुमार जोशीले यसै शैक्षिक सत्रदेखि एमबिबिएसमा ५० जना विद्यार्थी भर्ना गर्ने योजना रहेको बताएका छन्।
यस्तै, मेडिकल शिक्षाको अध्यापन सुरू भएसँगै तीन सय शय्याको अस्पतालसमेत सञ्चालनमा आउने छ। तर डाक्टर केसीले सहिद दशरथ चन्द विश्वविद्यालयका पदाधिकारीको नियुक्ति बदर गर्नुपपर्ने माग राखेका छन्। विश्वविद्यालयले आगामी मंसिरबाट स्नातक तहका एमबिबिएसलगायतका विधामा अध्यापन गर्ने योजना बनाइरहँदा डाक्टर केसीले भने विश्वविद्यालय सञ्चालनको समग्र कार्य प्रभावित गर्ने हिसावले उपकुलपति र रजिस्टारको नियुक्ति बदरको माग राखेका छन्।
सुदूरपश्चिममा अहिलेसम्म मेडिकल कलेज खुलेको छैन। सरकारले अहिले आएर गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न खोजेको कुरामा पनि डाक्टर केसीले विमति राखेका छन्। उनले गेटामा माफियाको स्वार्थपूर्ति गर्न गेटामा मेडिकल विश्वविद्यालय जवर्जस्ती थोपरिएको आरोप लगाएका छन्।
डाक्टर केसी र उनलाई आन्दोलनमा उतार्ने समूहलाई सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय सञ्चालन भएको मन नपरेको कुरा प्रेस विज्ञप्तिले छर्लङ्ग पारेको भन्दै सुदूरपश्चिममा केसीको अनशनको विरोध हुन थालेको छ। अनशनप्रति हिजोसम्म सहानुभूति राख्दै आएका सयौं व्यक्तिहरूले केसीको अनशनले गेटा मेडिकल विश्वविद्यालय सञ्चालनमा बाधा पार्ने भन्दै तिखो आलोचना गरेका छन्। केसीले भने सर्वसाधारणको आलोचनाले फरक नपर्ने भन्दै अनशन बस्ने बताउँदै आएका छन्।


