काठमाडौँ, साउन ६। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईबीच आज मन्त्रालयमा अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्ताका क्रममा सांसद प्रसाईले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन, अधिकार संरक्षण, सम्मानपूर्ण जीवनयापन, समावेशी विकास तथा सामाजिक–आर्थिक सशक्तीकरणका लागि आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका विषयमा आफ्ना सुझाव प्रस्तुत गर्नुभयो।
सांसद प्रसाईले अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका फिनाइल, धूप, सरसफाइ सामग्री, हस्तकलालगायतका गुणस्तरीय वस्तुको खरिद तथा प्रयोगलाई मन्त्रालय र मातहतका निकायले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले यस्ता उत्पादनको बजार सुनिश्चित गर्न सके अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।
उक्त सुझावप्रति सहमति जनाउँदै मन्त्री सिता बादीले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण, प्रवर्द्धन र आर्थिक सशक्तीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका गुणस्तरीय सामग्रीको प्रयोगलाई सरकारी निकायबाटै प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्दै प्राप्त सुझावलाई आवश्यक अध्ययन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा अघि बढाइने बताउनुभयो।
मन्त्री बादीले भन्नुभयो, “सहायता मात्र होइन, उत्पादनको बजार सुनिश्चित गर्नु नै दिगो सशक्तीकरण हो। सरकारी निकायले उदाहरण प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादन गरिएका गुणस्तरीय सामग्रीको प्रयोग बढाउनुपर्छ।”


