अछाम । अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
मिति २०८३ जेठ ६ गते बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक जिल्ला बाजुरा खप्तड छेडेदह गाउँपालिका–३ बस्ने टेकेन्द्र रावत घाइते भएका छन्। उनको बायाँ खुट्टा भाँचिएको छ भने अवस्था मध्यम रहेको र प्रहरी निगरानीमा उपचार भइरहेको बताइएको छ।
त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ। सोही स्थानका ५३ वर्षीय नृप खातीको दाहिने हात र बायाँ आँखामा चोट लागेको प्रहरीले जनाएको छ।
यस्तै बुढीगंगा नगरपालिका–९ बस्ने ३४ वर्षीया उज्जला सेरला घाइते भएकी छन्। उनको बायाँ खुट्टामा चोट लागेको छ। साथै ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेको छ। सबै घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेहरूलाई बयलपाटा प्रादेशिक अस्पताल मा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय साँफेबगर र प्रहरी चौकी साँफेबजारबाट खटिएको टोलीले उद्धार गरेको थियो।
दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको छ भने सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।


