मध्यरातमा मोटरसाइकल नहरमा खस्यो, चालक बेपत्ता


पैरवी खबर

मोरङमा मध्यरातमा मोटरसाइकल नहरमा खसेपछि चालक बेपत्ता भएका छन् ।

ग्रामथान गाउँपालिका–५ स्थित खद्रा नहरमा मङ्गलबार राति मानिससहितको मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार हिजो राति ११ बजेतिर नहरमा मानिससहितको मोटरसाइकल खसेको हो ।

नहरमा खसेको मोटरसाइकल भेटिएको छ भने चालक सम्पर्कविहीन छन् ।

मोटरसाइकलमा कति सवार थिए भन्ने विषय यकिन भइनसकेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदैगर्दा अनियन्त्रित भएर स४प ५३३८ नम्बरको मोटरसाइकल नहरमा खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएका हुन् ।

‘हामीले स्थानीयले दिएको जानकारीलाई आधार मानेर खोजी गर्दा हिजो राति नै मोटरसाइकल फेला पार्यौँ’, डिएसपी श्रेष्ठले केटिएम दैनिकलाई भने, ‘पानी घुँडा–घुँडासम्म मात्र थियो । चालक भने भेट्न सकेनौँ । बिहान नहरको पानी सुकाएर हेर्दासमेत भेटेका छैनौँ ।’

चालक घाइते भएर उपचारका लागि गएको हुनसक्ने प्रहरीको आशङ्का छ । मोटरसाइकल नम्बरका आधारमा पहिचानको प्रयास भइरहेको उनले जनाए ।