झुठो आश्वासन दिने नेताहरुबाट देशले मुहार फेर्न सक्दैन


पैरवी खबर

हिक्मत कुँवर
पहाडी जिल्लाका बस्तीहरु हिजोआज बृद्धआश्रम र खंडहर बन्दैगएका छन। शिक्षा र स्वास्थ्य जस्तो अती आवश्यक विषयमा सरकारको गैर जिम्मेवारीको साथै आयस्रोत नहुनेहरु आफ्ना हजारौं सपनाहरुलाई कुल्चदै थुप्रै समस्याका पोकाहरुसङ्ग जुध्न नसकेर प्रदेशिन बाध्य छन।
पैसाले पैसालाई तान्ने नवउदारबाद र संस्थागत रुपमा मौलाएको दलाल पूजीवादी व्यवस्थाले यो देशका गरिब जनतालाई साधारण जीवन व्यतीत गर्ने अधिकारबाट पनि बन्चित गरेको छ। बजारिकरणको अभाव ,उत्पादन क्षेत्रमा सरकारको गैरजिम्मेवारी ,खाद्यान्न ,शिक्षा र स्वास्थ्य जस्ता विविध क्षेत्रहरुमा चुलिएको महङ्गाई ,खुल्ला रुपमा मौलाएको भ्रष्टाचार र अनियमितता जस्ता थुप्रै कारकहरुका कारण आज गरिब जनताले भाबह्वील हुँदै देश छोडेका छन। सरकार भनेको जनताकोलागि आमा हो,बा हो र दु:ख पीडा भएको बेलाको सहारा पनि हो। तर हाम्रो देशको सरकारले जनताप्रति अभिभावकत्व बहन गर्न सकेन। जस्का कारण राज्य तहसनहस हुँदै गइरहेको छ।
कर असुलीमा देखिएको चुहावट ,जनप्रतिनिधिहरुका थुप्रै किसिमका सेवा सुविधाहरु माथि लगाम ,गलगाण बन्दै गरेको प्रदेश सरकारको खारेजी ,अनावश्यक रुपमा निर्माण हुँदै गरेका भौतिक पुर्वाधारहरु माथि रोक,निकम्मा बन्दै गएका अख्तियार , महालेखा र न्यायालयको साथै आयोग नियोगहरुमा हुनेहरेको पार्टीको भर्ती केन्द्रलाई यदि सरकारको आँखाले न्यायोचित रुपमा मार्गदर्शन गर्छ भने मात्र सर्वपक्षीय र सर्वदलीय र भेदभाव रहित सुन्दर नेपालको परिकल्पना गर्न सकिन्छ । नेपाल सरकारलाई सक्रिय बनाउन र सुशासन स्थापित गर्नकोलागि आम जनतापनी सक्रिय हुनु उत्तिकै आवश्यक छ। ब्यक्तिगत स्वार्थका कारण जिन्दावादका नारा लगाउनेहरु र पदकोलागि मात्र जनतालाई झुठो आश्वासन दिने नेताहरुबाट भने देशले मुहार फेर्दैन । देशमा झन अराजकता बढ्दै जाने छ । त्यसैले अरुलाई आरोप लगाएर आफू साधु नबनौ। यो सरकार र यी कथित नेताहरुपनी हाम्रै स्वार्थका उपज हुन। कागतीको बोट लगाएर आँप खाने र फलाउने सोच मुर्खताको पराकाष्ठा मात्र हो ।
(लेखक कुँवर २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यकालागि अछाम क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार हुन )