रामारोशनमा नेकपाको चुनावी सभामा रास्वपाको अवरोधको प्रयास, कार्बाहीको माग


पैरवी खबर

रामारोशन गाउँपालिका–५ मा चौकामा आयोजित नेपाली कम्युनिष्ट पार्टीको चुनावी सभामा रास्वपाका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका छन् ।
फागुन ७ गते सम्पन्न सभाका क्रममा दक्षिणतर्फबाट आएको एक बोलेरो गाडी भीडतर्फ प्रवेश गरेको, गाडीका झ्याल खोल्दै ठूलो स्वरमा माइक बजाइएको तथा एक व्यक्तिले गाडीबाट बाहिर निस्केर हात हल्लाउँदै घण्टी बजाएर आमसभालाई विचलित पार्ने प्रयास प्रति निर्वाचन प्रचार–प्रसार समिति अछाम क्षेत्र नं। १ का संयोजक शेरबहादुर कुँवरले आपत्ति जनाउनु भएको छ।
रास्वपाका गतिविधिले कार्यक्रममा सहभागी जनतामा त्रास र उत्तेजना सिर्जना गरेको जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

सभाबारे जिल्ला प्रशासनलाई पूर्वलिखित जानकारी गराइसकिएको अवस्थामा कार्यक्रम विथोल्ने उद्देश्यले गरिएको गतिविधि नियोजित र आचारसंहिताविपरीत भएको पार्टीको दाबी छ। प्रेस विज्ञप्तिमा दोषीमाथि निर्वाचन कानुन बमोजिम छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

निर्वाचन प्रचार–प्रसार समिति अछाम क्षेत्र नं। १ ले यस्ता गतिविधिले निष्पक्ष, मर्यादित र शान्तिपूर्ण निर्वाचन वातावरणमा बाधा पुग्ने भन्दै प्रशासन र सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेको छ।
उक्त कार्यक्रमलाई नेकपाका वरिष्ठ नेता एवम् अछाम निर्वाचन क्षेत्र नं १ का उम्मेदवार डा । भिम बहादुर रावल, नेकपाका नेता सुदूरपश्चिम् प्रदेशका संसदीय दलका नेता खगराज भट्ट लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

निर्वाचन आचारसंहिताले के भन्छ ?

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दल, उम्मेदवार वा समर्थकले अर्को दलको जुलुस, आमसभा, कोणसभा, बैठक वा मेलामा अवरोध, विथोल्ने कार्य वा कुनै प्रकारको बाधा पुर्‍याउन नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।

एउटै समय र स्थानमा एकभन्दा बढी दलले कार्यक्रम गर्न नपाइने, पूर्व जानकारी बिना सार्वजनिक स्थलमा कार्यक्रम गर्न नहुने तथा जनतामा त्रास फैलाउने किसिमका गतिविधि निषेध गरिएको छ।