सुदूरपश्चिमबाट प्रधानमन्त्रीका दाबेदार डा. रावल:पूर्व मुख्यमन्त्री सोडारी


पैरवी खबर

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवंम् नेकपाका नेता दीर्घ बहादुर सोडारीले अबको प्रधानमन्त्रीका बलियो दाबेदार डा। भीम बहादुर रावल रहेको दाबी गर्नुभएको छ ।
साँफेबगर नगरपालिका–९ बुढाकोटमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सोडारीले राष्ट्रिय राजनीतिमा देखिएको नयाँ अनुहार र पार्टीका केही शीर्ष नेताहरू चुनाव नलडेको अवस्थालाई संकेत गर्दै रावललाई प्रधानमन्त्रीका रूपमा अघि बढाउने सम्भावना बढेको जिकिर गर्नुभयो । उहाँले सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्व दिन सक्ने एकमात्र सक्षम व्यक्तित्व रावल भएको उल्लेख गर्नुभयो ।
सोडारीका अनुसार नेपाली कांग्रेसका निर्वतमान सभापति शेर बहादुर देउवा टिकटबाट बन्चित र पार्टी सभापतिबाट हटाइसकेपछि अब सुदूरपश्चिमको नेतृत्व र राष्ट्रिय स्तरको अभिभावकत्व रावलले नै सम्हाल्ने वातावरण बनेको बताउनुभयो ।
त्यस्तै, कांग्रेस नेता रमेश लेखक पनि टिकटबाट वञ्चित भएको र एमाले नेता लेखराज भट्टलाई पार्टीभित्रै सवैले स्विकार नगरेको सन्दर्भ उल्लेख गर्दै सोडारीले सुदूरपश्चिमको राजनीतिक अभिभावकका रूपमा रावल अघि आउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले देशको वर्तमान परिस्थितिमा सुदूरपश्चिमबाट सशक्त र निर्णायक नेतृत्व आवश्यक रहेको धारणा राख्दै रावललाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने राजनीतिक सम्भावना बलियो बन्दै गएको दाबी गर्नुभयो । उहाँलाई भारी मतले विजय गराउन सम्पूर्ण अछामवासीलाई आग्रह समेत गर्नुभयो ।