साँफेबगर। अछाम टिकाथली सेवा समाजको आयोजनामा ललितपुरको टिकाथलीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीमार्फत निर्वाचित माननीय सांसदहरुलाई कार्यक्रममा सम्मान गरिएको हो।
अछाम पुर्खेउली घर भएका तथा अछाम जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई विशेष रूपमा स्वागत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै माननीय सांसद ज्वाला संग्रौलाले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले अछाम र बाजुराका जनताको भविष्यसँग जोडिएको सेती लोकमार्गलाई ‘रातो किताब’मा समावेश गरिएको जानकारी बताउनुभयो ।
सांसद संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम भ्रमणका क्रममा व्यक्त गरेको “सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तमलाई ” भन्ने भनाइ व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै, यदि उक्त प्रतिबद्धता पूरा नभए आफ्नै सरकारलाई खबरदारी गर्ने चेतावनी दिनुभयो।


