नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले जेन्जि आन्दोलन पछि मुलुक अहिले गम्भीर राजनीतिक, आर्थिक संकटको चरणमा रहेको बताउनुभयो ।
साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट र वडा नं. १४ पातलकोटमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै नेता डा.रावलले अहिले देश बचाउन र राष्ट्रियताको रक्षा गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ ।
देश अहिलेको संकटबाट बाहिर निस्कन सक्षम र अडिग नेतृत्व आवश्यक रहेको दोहो¥याउँदै आफ्नो उम्मेदवारी राष्ट्रको स्वाभिमान र स्थायित्वको पक्षमा रहेको दाबी गर्नुभयो ।
उहाँले वर्तमान परिस्थितिमा राष्ट्रिय हित, सार्वभौमसत्ता र स्वाभिमानमाथि विभिन्न कोणबाट चुनौती देखिएको उल्लेख समेत गर्नुभयो । उहाँले जनताको प्रत्यक्ष साथ र मत मार्फत राष्ट्रिय शक्तिलाई सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
देशको स्वाधीनता, राष्ट्रिय एकता र जनताको अधिकार सुरक्षित राख्न अब दृढ अडानसहितको नेतृत्व आवश्यक रहेको रावलले भन्नुभयो ।
मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको, युवाशक्ति विदेशिन बाध्य भएको र राज्यका संयन्त्रप्रति जनविश्वास घट्दै गएको सन्दर्भ उल्लेख गर्दै यस अवस्थाबाट मुलुकलाई जोगाउन राष्ट्रहित केन्द्रित राजनीति आवश्यक रहेको बताउनुभयो ।
घरदैलोका क्रममा स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै उहाँले सीमा सुरक्षा, राष्ट्रिय सम्पत्तिको संरक्षण, उत्पादनमुखी अर्थतन्त्रको विकास तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
घरदैलो अभियानमा पूर्व मन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घ सोडारी, नेकपाका केन्द्रिय सदस्य एवंम् समानुपातिक उम्मेदवार गणेश विक, नेकपाका केन्द्रिय कमिटी सदस्य कुलबहादुर कुँवर, लक्ष्मण कुँवर, नेता हर्क बहादुर कुँवर गोबिन्द, समानुपातिक उम्मेदवार केशर मिया, नेता दुधकला विष्ट, भरत स्वाँर, भिम प्रसाद भण्डारी जंग विक, प्रकाश शाह लगायतको नेता कार्यकर्ताकोे सहभागिता रहेको थियो ।


