नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले जेन्जी आन्दोलन कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि नभएको स्पष्ट पार्नुभएको छ।
मेल्लेख गाउँपालिका वडा नम्बर–६ षोडशामा आयोजित घरदैलो कार्यक्रमपछि बोल्दै नेता रावलले जेन्जी आन्दोलन देशको भविष्य, सुशासन स्थापना, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाभिमानका लागि भएको बताउनुभयो ।
उहाँले आन्दोलनका क्रममा गोली खाने युवा, लाठी खाने विद्यार्थी र सडकमा उत्रिएका नागरिकहरू कुनै व्यक्तिको पद वा स्वार्थका लागि नभई राष्ट्र र जनताको पक्षमा लडेको स्पष्ट गर्नुभयो। नयाँ–नयाँ नाममा समाजमा भाष्य सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै डा. रावलले लक्ष्यहिन व्यक्तिको पछि नलाग्न आम नागरिकलाई आग्रह गर्नुभयो।
जेन्जी आन्दोलनका क्रममा युवाहरूले भोगेको पीडा, त्याग र बलिदानलाई सम्झँदै उहाँले त्यसलाई व्यक्तिगत स्वार्थसँग जोडेर हेर्नु गलत हुने धारणा व्यक्त गर्नुभयो। “अरूका छोराछोरीलाई सडकमा उतारेर आफ्ना सन्तान विदेश पठाउने प्रवृत्तिले जनताको भरोसा जित्न सक्दैन,” डा. रावलले भन्नुभयो।
कार्यक्रममा डा. रावलले अछाम क्षेत्र नम्बर–१ का मतदातालाई विकास, राष्ट्रियता र स्वाभिमानका मुद्दामा सचेत भएर निर्णय गर्न आग्रह गर्नुभयो। आफू निर्वाचित भएमा क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
घरदैलो अभियानमा पूर्व मन्त्री शेरबहादुर कुँवर, नेकपाका केन्द्रीय कमिटी सदस्य कुलबहादुर कुँवर, लोक बहादुर बोहरा, हर्क बहादुर कुँवर गोविन्द, समानुपातिक उम्मेदवार केशर मियाँ, निर्मला साउद, नेकपाका नेता तथा गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, तेज बहादुर रावल, कटक रावल, भरत स्वाँर, जनक खड्का, जंग विक, अर्जुन धामी लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।


