सुरत सुनार
अछाम २०८२ असार ,अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ स्थित कालिका माविका छात्रा भावना सावदले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट जिपिए ल्याउँदै सबैको ध्यान तान्न सफल भएकी छन्।
शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार, भावना साउद र किण्डर गार्डेनका एलिशा कुँवर दुवैले समान ३.९० जीपीए प्राप्त गरेका छन्। एसईई परीक्षामा जिल्लाबाट सहभागी सबै विद्यार्थीहरू मध्ये यी दुई विद्यार्थीले नै सर्वाधिक जिपिए ल्याएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्राविधिक सहायक सुरेन्द्र बजगाईले उत्कृष्ट परिणामका बारेमा जानकारी गराउँदै यस्ता होनहार विद्यार्थीहरूले जिल्लाको शैक्षिक पहिचान उजागर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी इकाइका प्रमुख अम्बादत्त जोशीले पनि भावना सावद र एलिशा कुँवरले अछाम जिल्लालाई गौरव गराएको बताउँदै आगामी दिनमा यस्ता प्रतिभावान विद्यार्थीहरूको निरन्तर प्रगतिको कामना गर्नुभयो।
जिल्ला मै उत्कृष्ट नतिजा ल्याउन सफल भावना सावदका बुवा महाजन सावदले पनि २०५१ सालको एस एल सी परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा ल्याइ जिल्ला टपर भएका थिए । अहिले उहाँ कालिका मावि हात्तिकोटमा अध्यापन गराइरहनुभएको छ।
जिल्ला दुर्गम भए पनि विद्यार्थीहरूमा उत्कृष्टता देखिनु सकारात्मक संकेत भएको शिक्षाविदहरुको भनाइ छ।


