वातावरण संरक्षणमा सक्रिय चौरपाटी गाउँपालिका


पैरवी खबर

वातावरण संरक्षणमा सक्रिय चौरपाटी गाउँपालिका

एकेन्द्र महता

अछाम।

अछामको चौरपाटी गाउँपालिका पानीको मुहान र वातावरण संरक्षणका लागि रिचार्ज पोखरी पोखरी निर्माणका लागि सक्रिय बनेको छ। ३६४ दिन आफ्नो कामको लागि उठौं, एक दिन वातावरण संरक्षणका लागि जुटौ भन्ने अभियानमा चौरपाटी गाउँपालिकाका सात वटै वडाका स्थानीवासिन्दा, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल हात हातमा, फाउरा कोदालो, हसिया, घैटी, सव्वल लिएर साउन २९ गते वातावरण संरक्षण अभियानमा जुटेको थियो।

अभियान अन्तर्गत कर्मचारी लगायत करिब तीन हजार स्थानीय बासिन्दाको सहभागिता चौरपाटी गाउँपालिकाका सात वटै वडामा साढे दुई फिट देखि तीन फिट सम्मका चार सय १८ वटा रिचार्ज पोखरी निर्माण गरिएका छन्। सात वटै वडाका दुई हजार ७ सय जनाले गाउँपालिकाको रिचार्ज पोखरी निर्माण अभियानमा श्रमदान गरेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले जानकारी दिनु भयो।

वातावरण संरक्षण अभियान अन्तर्गत चौरपाटी गाउँपालिकामा साना ठूला गरी करिब साढे सात हजार रिचार्ज पोखरी निर्माण भएका छन्। प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर वस्तुभाउ र चराचुरीको संरक्षण अभियानको लागि सुरुवात गरिएको अभियानमा साढे तीन हजार भन्दा वढी दुई फिट देखि तीन फिट सम्मका रिचार्ज पोखरी निर्माण गरिएको अध्यक्ष साउँदको भनाई रहेको छ।

यो वर्ष चौरपाटी गाउँपालिकाको वडा नम्बर १ सिउडीमा ६६ वटा , वडा नम्बर २ सोकटमा ५५ वटा, वडा नम्बर ३ गगुडा ४४ वटा, वडा नम्बर ४ पायलमा १३ वटा, वडा नम्बर ५ लुंग्रामा ६५, वडा नम्बर ६ दूनिमा ३८ र वडा नम्बर ७ मार्कुमा एक सय ३७ वटा ठूला पोखरी निर्माण भएका छन्। यो वर्ष सबै भन्दा कम वडा नम्बर ४ पायलका १३ वटा पोखरी र सबै भन्दा बढी वडा नम्बर ७ मार्कुमा एक सय ३७ वटा पोखरी निर्माण भएका छन्।

यस्तै पूराना चार सय ४५ वटा रिर्चाज पोखरीको पूर्ननिर्माण गरिएका छन्। वातावारण संरक्षण अभियानमा स्थानीय बासिन्दा हातहातमा फाउरा, कोदालो, हसिया, घैटी, सब्बल लिएर अभियानमा जुटेकोमा सम्पूर्ण समुदायलाई उहाँले धन्यवाद दिनु भएको छ। उहाँले गाउँपालिकाले सुरुवात गरेको वातावरण संरक्षण गर्न अभियानलाई अन्य पालिकाले पनि लागु गर्नु पर्नेमा जोड दिनु भएको छ।

रिचार्ज पोखरी निर्माणको सूरुवात भएपछि केही ठाउँमा सुख्खापन र पानीका मुहान सुक्ने समस्याको अन्त्य भएको स्थानीय ८८ वर्षिय देव बहादुर शाहले बताउनु भयो। उहाँले पूराना भैसी बस्ने खालको पनि संरक्षण हुँदा अहिले पशुपंक्षीलाई खानेपानीको लागि सहज भएको बताउनु भयो।

चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडाका वडा सदस्य विरेन्द्र साउँदले वडाका डाडाँकाडाँमा रिचार्ज पोखरी निर्माण भएपछि भैसीलाई आहाल बसाउनको लागि र पशुचौपायालाई खानेपानीको लागि सजिलो भएको जानकारी दिनु भयो। उहाँले पशु चौपायलाई खानेपानीको लागि एक ढेड घण्टा टाढा लिनु पर्ने अवस्था केही वर्षयता सजिलो भएको वडा सदस्य साउँदको भनाई रहेको छ।

यो अभियानमा जनताको पूर्ण साथले गाउँका डाँडाकाँडामा रिचार्ज पोखरी निर्माण सम्भव भएको उहाँको भनाई रहेको छ। गाउँपालिकाका अध्यक्ष हर्क साउँदले तत्काल यसको फाईदा नदेखिए पनि विस्तारै केही वर्ष पछि यस्को प्रभाव देखिने उहाँको दावी रहेको छ।

मुख्य गरी पानीको मुहान माथी पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाडाँमा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीको अभाव नहुने, घर नजिक आई रहेका जंगली जनावर, पशुपंक्षीको आहार जंगलमै भेटिने भएकोले पनि खेतिपातीको संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउँदको भनाई रहेको छ।

गत वर्ष कोरोना भाईरस कोेभिड १९ का कारण अभियान सुरुवात गर्न नसके पनि यो बर्ष जनताको स्वतस्फूर्त सहभागिताले ठूला पोखरी निर्माण गर्न गाउँपालिका सफल भएको उहाँको भनाई रहेको छ।