मृतक बुढाका परिवारलाई प्रर्मिला पौडेलद्वारा २८ हजार १ सय सहयोग


पैरवी खबर

टेकबहादुर थापा
अछाम । अछामको ढकारी गाउँपालिका–१ का मृतक बृख बुढाको परिवारलाई काठमाडौं निवासी प्रर्मिला पौडेलले आर्थिक सहयोग गर्नुभएको छ। नेपाल सरकार उद्योग मन्त्रालयमा समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत पदमा कार्यरत पौडेलले शोकाकुल परिवारलाई २८ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको हो । शनिबार दिउँसो मृतक बुढाको शव अन्तिम संस्कारका लागि गाउँसम्म लैजान आर्थिक अभाव भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पौडेलले परिवारलाई सहयोग गर्नुभएको हो। मृतकको परिवारलाई काजक्रिया गर्न सहज होस् भन्ने उद्देश्यले उहाँले उक्त रकम सहयोग गर्नुभएको बताउनुभयो ।
रेडियो गाउँघरसँग कुराकानी गर्दै अधिकृत पौडेलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो हेर्दा आफू निकै भावुक भएको बताउनुभयो। आर्थिक अवस्था कमजोर भएकै कारण एक नागरिकले अकालमै ज्यान गुमाउनु सबैका लागि दुःखद भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मृतक बृखका लागि आफूले थप केही गर्न नसके पनि शोकाकुल परिवारलाई काजक्रिया गर्न सहज होस् भन्ने उद्देश्यले सानो रकम सहयोग गरेकी हुँ ।
यसअघि शनिबार नै सहयोगी मन भएका विभिन्न व्यक्तिहरूले मृतक बुढाको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकम शनिबार नै मृतकका बुवा गंगाराम बुढालाई हस्तान्तरण गरिएको थियो । थप सहयोग रकम केही दिनभित्रै हस्तान्तरण गरिने शिक्षक कर्णबहादुर बुढाले जानकारी दिनुभएको छ । छोराको शव गाउँसम्म लैजान आर्थिक अभाव भएपछि मंगलसेनमा भौतारिन बाध्य हुनुभएका गंगाराम बुढाले विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबै सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । बृख बुढाको गत कात्तिक २७ गते साँझ भीरबाट लडेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल अछाममा मृत्यु भएको थियो ।