सर्वदलीय बैठक सम्पन्न: सामाजिक सद्भाव कायम राख्न सबै दलहरू एकमत


पैरवी खबर

काठमाडौँ। सुनसरीको देवानगञ्जको घटनाका सम्बन्धमा छलफल गर्न आज बसेको सर्वदलीय बैठकमा सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सहमत भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सभापति लामिछानेले राजनीतिक रुपमा लड्ने मैदान फरक भए पनि सामाजिक सद्भाव भड्किदा सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा कुनै पनि साम्प्रदायिक हिंसा हुन नदिनेमा दलहरू एकमत हुनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको र यस किसिमका घटनाहरू घट्दा दलहरू पनि एकै ठाउँमा उभिने परम्परा रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा भड्किएको साम्प्रदायिक हिंसा अन्त्य गर्न आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै सरकार चाहिँ यतिखेर स्ट्याटसमा सीमित रहेको आरोप लगाउनुभयो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नागरिकको सुरक्षाको जिम्मेवारी सबैको साझा भएकाले मुुलुुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै दल एक हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेनले राज्यको निरन्तर उदासीनताका कारण सुनसरी घटना दोहोरिएकाले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

आजको सर्वदलीय बैठकमा नेताहरू महन्थ ठाकुर, सिके राउत र श्रम संस्कृति पार्टीका आरेन राई पनि सहभागी हुनुहुन्थ्यो ।

बैठकपछि मुख्य राजनीतिक दलका हस्ताक्षरमा साँझा अपिल सार्वजनिक गरिने रास्वपाले जनाएको छ ।