बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन, ट्रमा युनिट र रक्त सञ्चार केन्द्र सञ्चालनमा


पैरवी खबर

अछाम । २०८२ साल भाद्र १ गतेदेखि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत आएको बयालपाटा प्रादेशिक अस्पतालको औपचारिक उद्घाटन गरिएको छ । एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहकै अवसरमा अस्पतालमा रक्त सञ्चार केन्द्र, ट्रमा युनिट स्थापना तथा चौथो ग्रामीण ट्रमा सम्मेलनको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा पूर्व उपप्रधान तथा गृह एवं रक्षा मन्त्री डा. भीम रावल, प्रतिनिधि सभा सदस्य भरत कुमार स्वाँर, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डा. जगदिश जोशी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झपट ढुंगाना, हाप्सा नेपालका संस्थापक डा. रामु खरेल, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका अवसरमा अस्पताल स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने सहिद परिवारका सदस्य, विभिन्न योगदानकर्ता संस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । न्याय हेल्थ नेपाल, सशस्त्र प्रहरी बल, हाप्सा नेपाल, लाइन्स क्लब, दारी ग्याङ, लाइफलाइन अछाम लगायत संस्थालाई सम्मान गरिएको थियो भने सबैभन्दा बढी रक्तदान गर्ने अस्पतालका स्वास्थ्यकर्मी भवेन्द्र बोहरालाई पनि विशेष सम्मान गरिएको थियो ।
त्यसैगरी, हाप्सा नेपाल (HAPSA) ले अस्पताललाई भेन्टिलेटर उपकरण सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रममा वक्ताहरूले बयालपाटा प्रादेशिक अस्पताललाई सुदूरपश्चिमकै गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।