मंगलसेन ६ का किसानहरुले १५ लाख ५२ हजारको मकै बेचे


पैरवी खबर

अछाम । मंगलसेन नगरपालिका वडा न ६ का किसानहरुले यो वर्ष १५ लाख ५२ हजारको मकै बेचेका छन । गत वर्ष १० लाखकको मकै बेचेका किसाहरुले यो वर्ष गत वर्षको भन्दा ५ लाख बढीको मकै बेचेका हुन । वडा भरिका किसानले फलाएको २६ हजार ७ सय ६० केजी मकै बेचेर साढे १५ लाख भन्दा बढी रुपैया वडाका किसानहरु पाएको शिवशक्ति कृषि सहकारीका अध्यक्ष लोकराज भण्डारीले बताउनुभयो ।
कृषि सहकारी संस्थाको सहजिकरणमा वडाका किसानले उत्पादन गरेको मकै वडा कार्यालयमा संकलन गरि बिमल फर्म एग्रो एण्ड रिसर्च सेन्टर चितवनलाई बिक्रि गरेको वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । वडाका सबै किसानहरुले उत्पादन गरेको मकै संकलन गरि वडा कार्यालयमा जम्मा गरिएको र त्यही मकै अहिले निर्यात गरिएको बताउनुभयो । आफुहरुको निरन्तरको प्रयासले यो उपलब्धी हासिल भएको अध्यक्ष भण्डारीको भनाई छ ।
मनकामना जातको मकै ४० रुपैया र रामपुरकम्पोजिट जातको मकै ५० रुपैयमा बिक्री गरिएको शिवशक्ति कृषि सहकारी संस्थाले जनाएको छ । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले वडा न ६ का किसान दाजुभाईहरुको मेहनतले नगरकै गरिमा बढाएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । यो वडाका किसानहरुले उत्पादन गरेको दुध नगरका अधिकांश वडामा पुग्ने गरेको भन्दै यस्तै रचनात्मक काम गर्न सुझाव दिनुभएको छ । यसले आम्दानी पनी हुने र किसानलाई प्रोत्साहन पनि मिल्ने भएकाले यस्तै कार्यलाई निरन्तता दिए नगरपालिकाको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
यस्तै मंगलसेन ६ मा रहेको शिवशक्ति कृषि सहकारी संस्थाका व्यवस्थापक वेदराज भण्डारीले हरेक वर्ष किसानले उत्पादन गरेको मकैले राम्रै बजार पाउदा किसानहरु खुसी भएको बताउनुभयो । किसानहरुले दुख गरेर लगाएको मकै समयमै बेचीएपछी किसानहरुमा हौसला बढेको भन्दै स्थानीय सरकारले थप उपकरण खरिद गर्न सहयोग गर्नुपर्ने माग गर्नुभएको छ ।