काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिको बैठकमा रिर्पोटिङ गर्ने पत्रकारमाथि मर्यादापालकले अमर्यादित व्यवहार गरेका छन् ।
समितिको बैठक कक्षमा मंगलबार संक्रणकालीन न्यायसम्बन्धी विधेयकबारे उपसमितिले छलफल राखेको छलफमा पत्रकारलाई ल्यापटपमा समाचार लेख्न रोक लगाउदैँ अमर्यादित व्यवहारसहित बैठकबाट बाहिर निकालेको हो ।
समितिको बैठकमा रिपोर्टिङका लागि पुगेका रातोपाटी अनलाइनका पत्रकार शम्भु दंगाललाई ल्यापटक प्रयोग गर्न रोक लगाउदैँ अमर्यादित तरिकाले बैठक कक्षबाट बाहिर पठाएको हो ।
प्रतिनिधि सभाको समिति बैठकमा नेपाल प्रहरीबाट सुरक्षाका लागि खटिएका मर्यादापालकले अमर्यादित व्यवहार गरेर बाहिर निकालेका थिए ।
‘आज कानुन, न्याय तथा मानव अधिकार समिति अन्तरगतको उपसमितिको बैठकमा मर्यादापालकको अमर्यादित व्यवहार भोगे । ल्यापटपमा समाचार लेखिरहेका बेला शङ्कर भण्डारी नाम गर्नुभएका मयार्दापालकले ल्यापटप बन्द गर्न लगाएर बाहिर निकाल्नुभयो’, पत्रकार दंगालले बताए ।
समाचार लेख्न रोक लगाएपछि आफूले संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलाई जानकारी गराए पनि पाण्डेले ल्यापटपबाट समितिको बैठक लाइभ जान सक्ने, समिति बैठकको अडिओ रेकर्ड हुन सक्ने भएकाले रोक लगाएको हुनसक्ने दंगालले बताए ।
पत्रकारमाथि मर्यादापालकबाट अमर्यादित व्यवहार भएकोप्रति संसदीय मामिला पत्रकार समाजको आपत्ति
यसैबीच संघीय संसदमा रिपोर्टिङका क्रममा पत्रकारमाथि मर्यादापालकबाट पछिल्लो समय अमर्यादित व्यवहार बढेकोप्रति संसदीय मामिला पत्रकार समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै पत्रकारमाथि मर्यादापालकबाट बढ्दै गएको अमर्यादित व्यवहारप्रति आपत्ती जनाएको हो ।
‘संसदीय समिति र संसद बैठकका समाचार संकलनका क्रममा मर्यादापालकबाट दैनिकजसो अवरोध बढ्दै जानु हामी सबैको चिन्ताको विषय बनेको छ ।
‘उपसमितिले औपचारिक रूपमा बोलाएर सधैँझैँ समाचार संकलन गरिरहेका वेला मर्यादापालकले माथिको आदेश भन्दै ल्यापटपमा समाचार संकलन गर्न नपाइने भन्दै एक्कासी समिति कक्षबाट पाखुरा समातेर बाहिर निकालेको घटनाप्रति संसदीइ मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ’, समाजका महासचिव विष्णु खड्काले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
समाजका अध्यक्ष सञ्जिव बगालेसहितको पदाधिकारी टोलीले सोमबार दिउसो नै घटनाबारे सभामुख देवराज घिमिरे, संघीय संसद्का महासचिव डा.भरतराज गौतम, प्रवक्ता एकराम गिरी, र मर्यादापालक प्रमुख प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेतलाई भेटेर यस्ता घटना आगामी दिनमा हुन नदिन ध्यानाकर्षणसमेत गराइसकेको छ ।
भेटका क्रममा सबै पदाधिकारीले आगामी दिनमा यस्ता घटना नदोरिन दिनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यद्यपी मर्यादापालक एसपी बस्नेतले भने संघीय संसद सचिवालयकै निर्देशनमा आफुहरुले सुरक्षा व्यवस्थामा कडाई गरेको बताउदैँ घटनाबारे अनविज्ञता देखाएका छन् ।
उनी मामिलाका पदाधिकारीसँगको भेटमा गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएका छन् ।