साँफेबगर ।
देश भरका विभिन्न शिक्षालय कर्मचारीहरु आन्दोलित भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा देश भरका पालिकाहरुमा आइतबार उनीहरुले प्रदर्शन गरेका हुन्। सहभागीले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका थिए। परिषद्मा आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धि लगायत माग राखि केही साता देखि आन्दोलन गर्दै आएका छन्। उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ खोई?, श्रम शोषण बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। विद्यालयका पियन र लेखापालको न्यूनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका हुन्। सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा त्यस कुरा नआएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एक वर्ष देखि निरन्तर आन्दोलनरत छन्। उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ। केही स्थानीय तहले मात्रै विद्यालय कर्मचारी र बाल विकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन्। संविधानको व्यवस्था अनुसार दुई वर्ष भित्र अर्थात २०७४ असोज ३ सम्म संघीय शिक्षा ऐन तर्जुमा हुनु पर्दथ्यो। २०७२ यताका ८ वर्षमा ८ शिक्षा मन्त्री फेरिए तर विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी ऐन ल्याउने मितिको भाखा भने सरेको सरै छ। यस्तै नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्य समिति साँफेबगर अछामले आफ्ना कार्यक्रमलाई निरन्तरता दिएको छ। नेपाल अधिराज्य भरका सामुदायिक विद्यालयमा कार्यरत न्यून पारिश्रमिकमा कार्यरत विद्यालय कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशागत स्थायित्वको विषयलाई लिएर आफ्ना माग सहित विभिन्न कार्यक्रमहरु गरि रहेको हो। विद्यालय कर्मचारी परिषदको केन्द्रीय निर्देशन अनुसार अछाम जिल्लाको साँफेबगरमा कर्मचारीले आइतबार कार्यक्रमलाई निरन्तर जारी राखेको हो। शिक्षा विकास तथा समन्वय ईकाई अछाममा अछाम जिल्ला भरिका विद्यालय कर्मचारीले जेठ २१ गते देखि २६ गतेसम्मको कार्यक्रम अनुसार धर्ना दिएको थियो। २७ गते देपख असार १ गते सम्म कायमाण्डौको बानेश्वर देखि माईती घर मण्डाला सम्म नारा जुलुस सहित थाली बजाउने कार्यक्रम रहेको विद्यालय कर्मचारी परिषद नगर कार्य समिति साँफेबगरका अध्यक्ष अर्जुन प्रसाद जोशीले बताउनु भयो। अध्यक्ष जोशी नेतृत्वको टोलीले धर्ना सहित साँफेबगर नगरपालिका शिक्षा युवा तथा लेखकुद शाखालाई नगर भरिका कर्मचारीको माग सहितको माग पत्र बुझाईएको छ। आफ्ना माग अनुसार नियमित धर्ना, त्यस पछि काठमाण्डौंमा हुने रिले अनसनमा सहभागिता जनाउने अध्यक्ष जोशीले बताउनु भयो। कर्मचारीका माग सरकारले वेवास्ता गरेको भन्दै विद्यालय बन्द कार्यक्रम सबै कर्मचारीले प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो। अछाम जिल्लाका ५ सय ८८ सामुदायिक विद्यालयका कर्मचारी मध्ये ९३ जना लेखापाल र ४ सय ९५ जना कार्यालय सहयोगी रहेका अध्यक्ष जोशीले जानकारी दिनु भयो।